कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

महतमा ‘युद्ध’कै झ–झल्को

हरि गौतम

रुकुम पूर्व — २०५६ असोज ६ गते राति महतमा ठूलो भिडन्त भयो, तत्कालीन विद्रोही पक्षका नेकपा माओवादीका लडाकु र नेपाली प्रहरीबीच । माओवादीका लडाकु महतमा प्रहरी चौकी आक्रमण गर्न आए । भिडन्त भयो । लडाकुले चौकी कब्जा गरे । चौकीबाट सरुवा भइसकेका तर चौकी नछाडेका डिएसपी ठूले राईलाई नियन्त्रणमा लिए ।

महतमा ‘युद्ध’कै झ–झल्को

त्यसपछि महत र त्यस आसपास दर्जन बढी भिडन्त भए । विद्रोही पक्षका लडाकु र राज्य पक्षका सेना, प्रहरी त मारिए नै त्यहाँ भएका भिडन्त वा भिडन्तको कारण धेरै सर्वसाधारण समेतले अनाहकमा ज्यान गुमाए । भूमे गाउँपालिका–६, को महत गाउँ अर्थात् साविक महत गाविसको ठूलो गाउँले दस वर्षे सशस्त्र युद्धको क्रममा धेरै लडाइँ, भिडन्त झेल्यो । युद्धको क्रममा महतका मात्रै ५८ जनाले ज्यान गुमाएका थिए । जिल्लामा सबभन्दा धेरै ज्यान गुमाउने संख्या साविक महत गाविसकै हो ।

तत्कालीन युद्धको क्रममा सबभन्दा ठूलो प्रहरी अधिकारी विद्रोहीको कब्जामा परेको पहिलो घटना महतकै थियो । महत प्रहरी चौकी आक्रमण तथा महतमा भएका अरु घटनाबारे धेरैले सुनेका पढेका छन् । तर महत पुग्नेहरुले त्यो सुन्ने मात्रै होइन देख्न पनि पाउँछन् । बाहिर हुनेहरुले यस बारेमा पढ्न र सुन्न पाउँछन् भने महत पुग्नेहरुले प्रत्यक्ष देख्न पाउने गरी युद्ध फिचर राखिएको छ । युद्धको झल्को दिनेगरी भूमे गाउँपालिकाले युद्ध फिचर बनाएको छ । ६ नम्बर वडाको महत ठूलो गाउँको सिरानमा रहेको युद्ध फिचरले युद्धकै झल्को दिन्छ । सबैतिर देखिने डाँडामा युद्ध फिचर राखिएको छ । महत पुग्नेहरुको पहिलो रोजाई युद्ध फिचर नै हो । युद्ध फिचर अवलोकन र फोटो खिच्नेहरु पछिल्लो समय बढ्दै गएका छन् । हालसम्म आधा दर्जन विदेशी टोलीले त्यसको अवलोकन गरेका छन् भने आन्तरिक पर्यटक भने ठूलो संख्यामा युद्ध फिचर अवलोकनका लागि पुगिसकेका छन् । विद्रोही र राज्यपक्षबीचको लडाइँ भइरहेको दृश्य फिचरमा समावेश गरिएको छ । ‘एक हिसाबले लडाइँ भइरहेको महसुस भयो,’ सल्यानका टेकेन्द्र बस्नेतले भने, ‘युद्धको झल्को दिने गरी नै फिचर बनाइएको रहेछ ।’ यसले युद्धको परिकल्पना गर्नलाई सघाउ पुर्‍याउने उनको भनाइ छ ।

भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा उक्त फिचर निर्माण थालेको थियो । हालसम्म फिचर निर्माणमा २० लाख खर्च भएको छ । फिचर निर्माण, तारबार र परिकल्पनाका लागि आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा १०/१० लाख खर्च भएको छ । युद्ध फिचरसहित विस्तृत परियोजनाको डीपीआर निर्माणका लागि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख बजेट विनियोजन गरिएको थियो । कोरोनाका कारण उक्त बजेट खर्च हुन सकेन । गत आर्थिक वर्षमा सोही शीर्षकमा १५ लाख बजेट गाउँपालिकाले बजेट विनियोजन गरेर खर्च गरेको थियो ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट यहाँ थप फिचर पनि तयार भएको छ । २०५६ सालको असोज ६ गते महत प्रहरी चौकी तत्कालीन माओवादीका लडाकुले कब्जा गरे । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठूले राई अपहरणमा परेको घटना यही थियो । यही घटनामा आधारित युद्ध स्मारिका बनाइएको छ । युद्ध स्मारिकामा यही महत प्रहरी चौकी कब्जामा भूमिकामा रहेकाहरुको सालिक निर्माण गरिएको हो । युद्ध स्मारिका निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगरले महत प्रहरी चौकी कब्जाको क्रममा भूमिका निर्वाह गरेकाहरुको सालिक निर्माण गरेको बताए । युद्ध स्मारिकाले समग्र युद्ध र त्यसमा त्याग, योगदान गरेकाहरुको प्रतिनिधित्व गर्ने उनले बताए । उनले युद्ध स्मारिका भौतिक संरचनाको संग्रहमात्रै नभएर इतिहासको संरक्षण र सुरक्षित राख्ने प्रयास भएको बताए । लडाइमा सहभागीहरुको सम्मान, सम्झना र नवपुस्ताको लागि इतिहास राख्न तथा संरक्षणका लागि यो काम थालिएको अध्यक्ष बुढाले बताए । ‘युद्ध यसरी लडिएको रहेछ भनेर नवपुस्तालाई देखाउनु, पुरानो पुस्ताको इतिहास संरक्षण गर्नु उद्देश्य हो,’ अध्यक्ष बुढाले भने ‘यसको साथै समग्र रुपमा युद्ध पर्यटनमा सघाउनु पनि युद्ध र अरु फिचरको परिकल्पना गरिएको हो ।’

प्रकाशित : मंसिर ५, २०७८ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?