किसानलाई अनुदानमा भैंसी

असार १५, २०७८

कान्तिपुर संवाददाता

जाजरकोट — भेरी नगरपालिका–१३ रोकायगाउँका ५० किसानले अनुदानमा भैंसी पाएका छन् । भेरी नगरपालिकाले अन्दुानमा १ लाख २३ हजार रुपैयाँ अनुदानमा वितरण गरेको हो । 

किसानलाई मुर्रा जातको भैंसी ८० प्रतिशत अनुदानमा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीर्ले बताए । पुष्पलाल लोकमार्ग क्षेत्रमा दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले भैंसी वितरण गरिएको हो । नगरपालिकाले उक्त वडामा पशुपन्छी पवर्द्धन कार्यक्रम पनि लागू गरेको छ । 

लागत साझेदारीमा ससर्त अनुदानतर्फको बजेटबाट भैंसी वितरण गरिएको नगरपालिकाले जनाएको छ । गरिबी र बेरोजगार समस्यालाई समाधान गर्न कृषि कार्यक्रमलाई प्रवर्द्धन गर्न उक्त कार्यक्रम सुरु गरिएको निमित्त प्रशासकीय अधिकृत घर्तीले बताए । ‘पर्याप्त वन क्षेत्र भएकाले यहाँका किसानले पशुपालनलाई छिट्टै व्यावसायिक बनाउन सक्छन्,’ उनले भने, ‘पहिलो चरणमा एक/एकवटा भैंसी वितरण गरिए पनि किसानको कार्यप्रगतिको आधारमा थप भैंसी दिइनेछ ।’ जाजरकोटमा ६२ प्रतिशत भूभाग वनजंगल र चरन क्षेत्रले ओगटेकाले जिल्लामा भैंसीपालनको सम्भावना राम्रो रहेको उनले बताए । 

नगरपालिकाले चारवटा भैंसीपालक कृषक समूहलाई करिब ४८ लाख रुपैयाँका भैंसी वितरण गरेको हो । दूध उत्पादनका लागि निकै उपयुक्त मानिएको क्रस मुर्रा जातको भैंसी बाँकेको बैजनाथबाट खरिद गरिएको थियो ।

कान्तिपुर

Link copied successfully