सल्यानमा बैंक कार्यालय अगाडि बम भेटियो

प्रतिबन्धित चन्द समूहले लियो जिम्मा

श्रावण १, २०७७

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिकास्थित रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयको सटर छेवैमा बिहीबार बिहान बाल्टिन बम भेटिएको छ । जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र त्यसमा टाँसेर राखेको एउटा पर्चा पनि भेटिएको छ ।

कोरोना महामारीको समयमा किसानहरुसँग ऋण असुली गरेको र लकडाउनको समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोले बम राखिएको कुरा पर्चामा लेखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बैंक छेवैमा बम भेटिएपछि अहिले उक्त क्षेत्र सिल गरिएको छ । बम निष्क्रिय बनाउन नेपाली सेनाको डिस्पोजल टोली बाग्चौर जाँदै गरेको छ ।

यसैबीच प्रतिबन्धित चन्द समूहले बम आफूले राखेको दाबी गरेको छ । समूहका सल्यान सेक्रेटरी ‘तुफान’ले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकलाई ब्याजको किस्ता असुलीरहेका कारण चेतावनीस्वरुप जनपरिषद सल्यानको संयोजक बारुदको नेतृत्वमा बम राखिएको जनाएका छन् ।

महामारीको समयमा बैंक तथा लघुवित्तले ब्याज, किस्ता उठाउन नछाडे कारबाही गर्ने उनले जनाएका छन् । पार्टीले पहिला पनि लकडाउनको अवधिमा ब्याज नउठाउन आग्रह गरे पनि अटेर गरेको उनले जानकारी गराएका छन्  ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully