२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोरोनाबाट बच्‍न स्वदेश फर्किए, घर नपुग्दै मृत्यु भयो

कलेन्द्र सेजुवाल

सुर्खेत — चिङ्गाड गाउँपालिका–३, अवलचिङका २२ वर्षीय एक युवा गत माघमा काम गर्ने र उपचार पनि गर्ने भन्दै भारतको गुजरात पुगे । विश्वव्यापी कोरोना संक्रमण बढ्दै गएपछि भने उनले साथीहरुँगै घर फर्किने निधो गरे । तर, घर पुग्न नपाउँदै मंगलबार राति उनको मृत्यु भएको छ ।

कोरोनाबाट बच्‍न स्वदेश फर्किए, घर नपुग्दै मृत्यु भयो

कर्णाली प्रदेश अस्पतालले मंगलबार राति करिब १२ बजे उनको मृत्यु भएको जनाएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले मृतकमा अन्य स्वास्थ्य समस्या रहेको र स्वाब परीक्षण रिपोर्टपछि मृत्युको कारण खुल्ने बताए । कोरोना नदेखिएमा शवको पोस्टमार्टम गरिने उनको भनाइ छ ।

युवाका आफन्तले कष्टपूर्ण यात्रा, खानपानको कमी र समयमै उपचार नपाउँदा मृत्यु भएको बताएका छन् । गुजरातबाट उनीसँगै आएका मामा नाता पर्नेका अनुसार उनीहरु आइतबार बिहान हिँडेका थिए । भारतमा यात्रा गर्दासम्म ठाउँठाउँमा फलफूल र खानाको व्यवस्था भए पनि नेपाल प्रवेश गरेपछि भने खाना र पानीसमेत नपाएको उनले बताए । ‘बिरामी मान्छे, त्यसमाथि तीन दिन तीन रातसम्म न राम्ररी आराम पाइयो न त खाना नै खान पाइयो,’ उनले भने, ‘यसले गर्दा भान्जा बाटोमै गलिसकेका थिए, तैपनि समयमै उपचार पाएका भए बाँच्थे कि ?’ गुजरातको अस्पतालले बाथरोगको निदान गरेपछि तीन महिनादखि नियमित रुपमा औषधि खाइरहेका उनले बताए ।

उनका अनुसार उनीहरु चढेको बस बबईको उकालोमा पुगेपछि रोकायाले बान्ता गरेका थिए । भेरी पुल नजिक आएपछि हातखट्टा बाउँडिए भनेर लत्र्याकलत्रुक भएका थिए । तैपनि सुर्खेत उपत्यका नजिक आएकोले उनमा उपचार होला भन्ने आशा जागेको थियो । ‘सुब्बाकुनामा अरु बस पनि लाइन लागेका थिए, त्यसैले मैले प्रहरीका असईलाई गएर बिरामीको समस्या सुनाएँ, आफै पनि ठाउँठाउँमा सम्पर्क गरेर एम्बुलेन्स बोलाएँ,’ उनले भने, ‘तर सम्पर्कमा आएका दुई–तीनवटा एम्बुलेन्सले आउन मानेनन्, मुस्किलले आधा घण्टामा एउटा गाडीमा अस्पताल पुर्‍यायौं ।’ मृतक युवकमा ज्वरो र खोकी भने नदेखिएको उनले बताए ।

राति करिब ११ बजे प्रदेश अस्पतालमा पुगेपछि झन् लापर्बाही भयो । बिरामीलाई इमरजेन्सी वार्डको ढोकामा पुर्‍याएको आधा घण्टासम्म पनि स्वास्थ्यकर्मी नजिक आएनन् । ‘मैले बिरामीलाई हेरिदिनुहोस् भन्दै हात जोडेर अनुनय गरेँ, ठाउँठाउँमा फोन गरेर हेरिदिनको लागि दबाब पनि दिएँ,’ उनले भने, ‘सुरुमा त मलाई ‘तपाईँ बाहिर जानुस्’ भन्दै उल्टै झपारे, धेरै ढिलो गरी डाक्टरले हेर्न त हेरे, तर मृत्यु भइसकेको भनेर जवाफ दिए ।’

बबईमै सरकारले क्वारेन्टाइन वा ‘स्क्रिनिङ’ सेन्टर बनाइदिएको भए भान्जालाई सजिलै बचाउन सकिने अवस्था रहेको उनी बताउँछन्। मंगलबार दिउँसो भारतीय नाका रुपैडियाबाट हिँड्नेबित्तिकै बिरामले च्यापे पनि बबईमा जाँच र उपचार हुन्छ भन्ने आशले अघि बढेको उनको भनाइ छ । ‘बबईमा आएपछि न चेकभयो, न त उपचारै पाइयो,’ उनले भने, ‘बरु भारतमा हुँदा अलिअलि खाना, पानी पाएका थियौं,’ उनले भने, ‘आफ्नै देश र प्रदेशमा आएपछि भने पराई भूमिमा आएजस्तो भयो ।’

पछिल्लोपटक भारतले रेल र बस सेवा चल्न दिने निर्णय गरेपछि आफूहरुले घर फर्किने योजना बनाएको पनि उनले बताए । बिरामी भएकोले भान्जालाई उतै बस्न सल्लाह दिए पनि रोग आइहालेमा आफ्नो ठाउँमा सजिलो हुने भन्दै फर्किएका उनको भनाइ छ । पहिले पनि गुजरात गइरहने उनी त्यहाँको होटलमा काम गर्थे ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?