१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपेक्षामा सिंजा सभ्यता

एलपी देवकोटा

जुम्ला — कनकासुन्दरी गाउँपालिका–५, हाडसिंजाका ८३ वर्षीय धनलाल हमाल सिंजा सभ्यता संकटमा पर्दै गएकोमा चिन्तित छन् । आजभोलि यताउता छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा उनको मन बहकिन्छ ।

उपेक्षामा सिंजा सभ्यता

‘यसको संरक्षण नहुने हो भने त नासिएर जान्छ,’ उनी भन्छन्, ‘बेलैमा सरकार र सम्बन्धित निकायले यसबारे सोच्नुपर्छ ।’ सिंजाका प्रमुख पर्यटकीय स्थलहरू पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन् । बिराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ ।

त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान नसकेको इलाका प्रशासन कार्यालय सिंजा नराकोटका प्रमुख मधुशंकर उपाध्यायले बताए । ‘पहिले त सिंजा सभ्यताको विकास र महत्व बुझ्न सकिएन,’ उनले भने, ‘अब देश संघियतामा गइसकेपछि पनि यसको संरक्षणमा बेवास्ता हुनु दु:खद हो ।’

संस्कृतिविद् रामानन्द आचार्य सबैभन्दा पुरानो सभ्यता बोकेको सिंजा सभ्यतातर्फ संघीय सरकारको त आँखा गएन, प्रदेश सरकारले पनि बेवास्ता गर्नु दु:खद भएको गुनासो गर्छन् । कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको आचार्य बताउँछन् । ‘सिंजा सभ्यताको प्रचार–प्रसार गर्न जरुरी छ,’ आचार्यले भने, ‘त्यसका लागि प्रदेश सरकार जागरुक हुनुपर्छ ।’

सिंजामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल, पुराना दरबारहरू संकटमा पर्दै गएका छन् । तिनीहरूको संरक्षण हुन सकेको छैन । लोप हुने अवस्थामा पुगेका छन् । सरकारले सिंजालाई विशेष क्षेत्र घोषाणा गरी यहाँको सभ्यताको संरक्षण गर्नुपर्ने सिंजालीको माग छ ।

‘अब तीनै तहका सरकारले सिंजा सभ्यताको संरक्षण, प्रवद्र्धन गर्नुपर्ने देखिन्छ,’ सिंजा सभ्यताका अनुसन्धानकर्ता लुड्कुका बासुदेव उपाध्याय भन्छन्, ‘नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ, तर नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन ।’

सिंजाको इतिहास
आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ ।

जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । ‘पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ,’ स्थानीय पूर्णप्रसाद धिताल भन्छन्, ‘यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।’

खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।

प्रकाशित : भाद्र २९, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?