'एक पालिका : एक आधारभूत अस्पताल' अन्तर्गत चन्द्रकाेट आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।
What you should know
गुल्मी — गुल्मीको चन्द्रकाेटमा आधारभूत अस्पताल सञ्चालन भएको छ । गाउँपालिकाको मुकाम शान्तिपुरमा निर्माण सम्पन्न 'एक पालिका : एक आधारभूत अस्पताल' अन्तर्गतको चन्द्रकाेट आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।
१५ शय्याको आधारभूत अस्पतालका लागि भौतिक संरचना पूरा भएपछि पालिकाले मापदण्डअनुसार जनशक्ति व्यवस्थापन गर्न नसक्ने भए पनि दुई मेडिकल अधिकृतसहित स्थानीय दुई स्वास्थ्य चौकी समायोजन गरेर आधारभूत अस्पताल सञ्चालन गरेको हो ।
अस्पतालबाट ल्याब सेवा, बर्थिङ सेन्टर, भिडियो एक्सरे, एम्बुलेन्स सेवा र सामान्य जाँचका सेवा सञ्चालन हुने पालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष पुनले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारबाट एक मेडिकल अधिकृत र पालिकाबाट एक मेडिकल अधिकृत साथै स्थानीय स्वास्थ्य चौकीबाट अन्य जनशक्ति व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा आएको उनेले बताए ।
यद्यपि स्वास्थ्य चौकीबाट पनि सेवा प्रदान भइरहेका छन् । चन्द्रकाेटमा तुलसीभक्त अर्जुन विल्डर्स जेभीमार्फत भ्याटसहित १३ करोड ६६ लाख रुपैयाँमा २०७८ असार १० मा सम्झौता भई एक वर्ष म्याद थप गरी गत असारमा सम्पन्न भएको थियो ।
आधारभूत अस्पतालमा मापदण्ड अनुसार तीन जना एमबीबीएससहित २८ स्वास्थ्यकर्मी र ४ जना कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी हो । यस दरबन्दी अनुसार हालकै अवस्थामा पालिकाले सञ्चालन गर्न सक्ने अवस्था भने छैन ।
चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले हामीले आधारभूत सेवा दिनेगरि अहिले शुभारम्भ भन्ने स्थितिबाट मात्रै अस्पताल सञ्चालन गरेको बताए । 'स्वीकृत दरबन्दी अनुसार जनशक्ति र सञ्चालन खर्च संघीय सरकारले व्यवस्थापन गर्नुपर्छ', उनले भने, 'हालकै सामान्य अवस्थामा अस्पताल चले पनि दरबन्दीअनुसार जनशक्ति राखेर पालिकाबाट मात्रै सञ्चालन गर्न सकिँदैन ।' अस्पतालबाट सेवा शुभारम्भ भए पनि अझै पूर्ण भइनसकेको उनले बताए । हालकै अवस्थामा अस्पतालले सेवा प्रदान गर्न प्रयत्न गरिरहेकोले स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
बजेट अभाव र निर्माण व्यवसायीको ढिलासुस्तीले गुल्मी जिल्लाका अधिकांश पालिकामा आधारभूत अस्पतालको भौतिक संरचना अलपत्र छन् ।
