तस्करी गरेर गैंडाकोट लैजाँदै गरेका गोरुसहित दुई जीप नियन्त्रणमा

वैशाख १०, २०८२

माधव अर्याल

Two jeeps with bulls smuggled in and carrying rhinoceros are under control

पाल्पा — कालीगण्डकी करिडोर सडक प्रयोग गरेर तस्करी गरेको गोरुसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार नियन्त्रणमा लिएको छ ।

सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि रामपुर हुँदै गैंडाकोटतर्फ लैजाने क्रममा दुई पिकअप जीपसमेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–००१ च ३३५६ नम्बरको पिकअप जीपका चालक हेटौंडा उपमहानगरपालिका–१७, हेटौंडा बस्ने २८ वर्षीय सिशान थिङ र बा २१ भ ८९२८ नम्बरको पिकअप जीपका चालक बारा जितपुर सिमना उपमहानगरपालिका २ बस्ने २२ वर्षीय महेश भोलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी चौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागेर रोकेर जाँच गर्दा ८९२८ नम्बरको पिकअपमा ५ वटा र ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरुहरु क्षमताभन्दा बढी कोची घाउचोट लाग्ने गरी निर्दयीपुर्वक यातना दिएर ल्याएको भेटिएको प्रहरी निरीक्षक कमल प्रधानले बताए ।

दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले जाँच गर्दा दुबै जीपका चालकलाई नक्कली कागजात बनाएर पठाएको छ । स्थानीय बासिन्दाले जानकारी गराएपछि मात्र प्रहरीले गोरु नियन्त्रणमा लिएको दाबी छ । भेटिएको कागजातमा ८९२८ मा कपिलवस्तुबाट पर्वत लैजाने भन्ने कागजात छ । भेटेरिनरी डाक्टर जयप्रकाश रायवर्धनको नाम लेखिएको छ । 

त्यस्तै ३३५६ नम्बरको जीपमा तस्करी गरिएको गोरु पठाउने निस्दी गाउँपालिका–६, कपिलवस्तु लेखिएको छ । भेटेरिनरी डाक्टरको नाम डा. अरुण चौलागाई रहेको छ । जीप चालकसँग भएको कागजातमा टिपेक्स लगाएको र नाम र ठेगानासमेत उल्टोपाल्टो रहेकाले करिडोर हुँदै गोरु तस्करी भएको पुष्टि हुने रामपुरस्थित हिन्दूवादी संस्थाले जनाएका छन् ।

भेटेरिनरी प्रमाणपत्र नै नक्कली भएकाले अनुसन्धान हुनुपर्ने उनीहरुले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पक्राउ परेका जीप चालकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए ।

स्रोतका अनुसार भारतबाट नेपाल भित्रिएका गोरुको नेपाल हुँदै बंगलादेशसम्म तस्करी हुने गरेको छ । पछिल्लो समय तस्करहरूले कपिलवस्तु जिल्लाको बहादुरगंज क्षेत्रलाई केन्द्र बनाएर कालीगण्डकी करिडोर हुँदै पूर्वतर्फ लैजाने गरेका छन् । कतिपय सवारी साधनमा तस्करहरूले कागजपत्रसमेत बनाउने, अदालतको आदेश, कर तिरेको राजश्व अनुसन्धान विभागको (भिसिटिएस) समेत लिएर गोरु तस्करी गर्दै आएका छन् । केही समयअघि पनि सानाठूला सवारी साधनमा गोरु तस्करी हुँदै आएको भेटिएको थियो ।

भारतीय गोरुलाई भन्सारमा हिँडाउदै नेपाल भित्र्याउने र नेपालभित्रका विभिन्न निकायबाट गोरुको नक्कली कागजपत्र बनाएर तस्करी गर्दै आएको भेटिएको प्रहरी स्रोतले जनाएको छ । पशु चौपाया खरिद बिक्री केन्द्रका नाममा विभिन्न सरकारी निकायमा दर्ता गरेका प्रमाणपत्रसमेत साथमा लिएर गोरुको तस्करी भइरहेको हो । गोरु तस्करले राजमार्गका प्रहरी कार्यालयका प्रमुख र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई मोटो रकम दिएको आरोप लाग्ने गर्छ । कतिपय स्थानमा चुल्ठे, मुन्द्रे युवासमेत प्रयोग गर्ने गरेको स्रोतले जनायो । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully