सरकार नीतिगत भ्रष्टाचारमा लाग्यो : माओवादी उपाध्यक्ष भुसाल

माघ ५, २०८१

गगनशिला खड्का

The government is involved in political corruption: Maoist Vice President Bhusal

गुल्मी — नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सरकार नीतिगत भ्रष्टाचारमा लागेको आरोप लगाएकी छन् ।

गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रको गाउँ अधिवेशन उद्घाटन गर्दै उनले भ्रष्टाचारीको रक्षा गर्ने र दलाल पुँजीपतिको रक्षा गर्ने शासन व्यवस्थामा जान दुई ठूला पार्टीले नीतिगत भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएकी हुन् । 

‘रातारात असंवैधानिक तरिका, बिचौलिया, दलाल पुँजीपतिका घरमा बसेर भ्रष्टाचार र दलाल पुँजीपतिको रक्षा गर्ने शासन व्यवस्थामा जान दुई ठूला पार्टीले ७ बुँदे सहमति गरे  । देखाउँदा राजनीतिक स्थायीत्व तर त्यसको मूल उद्देश्य भ्रष्टाचारीलाई बचाउने, कारबाहीका फाइलहरूलाई थन्क्याउने प्रक्रियाबाट उनीहरू अगाडि बढे,’ उनले भनिन्, ‘त्यसपछि अहिले एकपछि अर्को गरेर भ्रष्टाचारीलाई ढाकछोप गर्ने, नीतिगत तबरले भ्रष्टाचारलाई बढावा दिने ढंगले अगाडि बढेका छन् ।’

संविधान संशोधनका नाममा समानुपातिक प्रणाली हटाएर महिला, दलित, मधेशी लगायत उत्पीडित समुदायको अधिकार खोस्ने दुराशय रहेको उनको आरोप छ । ‘अहिले संविधानका हरेक अक्षरमा माओवादी देख्ने, प्रचण्ड देख्ने र कसरी हुन्छ संविधान च्यातचुत गर्न पायो भने आलोपालो खान्थ्यौं भनेर सपना देखेर एकातिर समानुपातिक प्रणाली हटाउने र अर्कोतिर साना दललाई थ्रेसहोल्ड लगाएर कसैलाई पनि माथि आउन नदिने आलोपालो कांग्रेस र एमालेले मध्यरातमा दलाल पुँजीपतिको घरमा ७ बुँदे गरेर यो सरकार बनेको हो,’ उनले भनिन्, ‘अहिले दलाल पुँजीपतिहरू, भ्रष्टाचारीहरूलाई फाइदा हुने गरेर काम–कारबाही मात्र होइन, नीति नै ल्याइदिने, अध्यादेश नै ल्याइदिने, ऐन नै बनाइदिने, हामी २ दल मिलेर जे पनि हुन्छ भनेर लागेका छन् ।’

माओवादी केन्द्रले पनि गठबन्धन गरेर चुनाव लड्दा, मिलेर सरकार बनाउँदा आफूहरू पनि दलाल नोकरशाही पुँजीपतिजस्तो बनेको भन्दै अब जनतासँग माफी माग्ने र गठबन्धनको चुनाव लड्दै नलड्ने उनले बताइन् । ‘उनीहरू सँगसँगै कामकाज गर्दा हामीमा पनि अलिअलि धूलोमैलो सर्‍यो, दलाल नोकरशाही पुँजीपतिको रोग अलिअलि हामीमा सरेजस्तो भयो,’ उनले भनिन्, ‘हामी अब २०८४ मा गठबन्धनको चुनाव लड्दै नलड्ने भनेका छौं । हामी युद्ध त लडेर आयौं तर चुनाव लडन किन एक्लै नसक्ने ?’

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully