ब्राउन सुगरसहित तीन पक्राउ

श्रावण १३, २०८१

कमल पन्थी

Three arrested with brown sugar

बर्दिया — बर्दियाका दुई ठाउँबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमानाकामा जाँच गर्दा ४ सय १० मिलीग्राम लागूऔषधसहित बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका २४ वर्षीय गणेश परियारलाई नियन्त्रणमा लिइएको हो । साइकल चढी आएका परियारलाई लागूपदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले बताए । उनलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बर्दियाले हिरासतमा राखेको छ । 

यसैगरी प्रहरीले बासगढी नपा–८ ककौरा चोकस्थित साइकलमा शंकास्पद हिँडिरहेको अवस्थामा जाच गर्दा लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्यालका अनुसार ४० मिलीग्राम उक्त पदार्थसहित सोही ठाउँका ३० वर्षीय प्रकाश थारुसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । दुवै जनालाई ईप्रका बासगढी मोतीपुरको हिरासतमा राखि अनुसन्धान भइरहेको उनले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully