आज तीन बजेभित्रै शपथको तयारी
रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नो दल कांग्रेससहित गठबन्धनका थप तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । बिनाविभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराइसकिएको छ । स्रोतका अनुसार जनमत पार्टीबाट रुपन्देहीबाट निर्वाचित चन्द्रकेश गुप्तालाई सामाजिक विकासमन्त्री, जसपाका बाँकेका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था, दाङका कांग्रेसका राजु खनाललाई स्वास्थ्य, बर्दियाका नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार र रुपन्देहीकै लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । लोसपाका पाण्डेय र उन्मुक्तिका चौधरी झन्डै एक महिनाअघि मन्त्री नियुक्त भए पनि बिनाविभागीय थिए ।
कांग्रेस र माओवादीभित्रको आन्तरिक विवादबीच मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सोमबार मन्त्रिपरिषद् विस्तारमा परेका कांग्रेसका खनाल संस्थापनइतर पक्षका हुन् । तर, अहिले संस्थापन पक्षबाट मन्त्री बन्ने अवसर पाएको स्रोतले बताएको छ । मुख्यमन्त्री चौधरीले यसअघि माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिलामन्त्री बनाएका छन् । माओवादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनको नाम यसअघि नै मन्त्री बनाउने गरी सिफारिस भएकोमा माओवादीका दीपेन्द्र पुनलाई मन्त्री नबनाउन कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले दबाब दिएपछि रोकिएका छन् ।
माओवादीका पुनले निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई विद्रोहीबाट उठेर जितेका थिए । माओवादीबाट विद्रोही उठेर अहिले पुनः माओवादीमै प्रवेश गरेकाले उनलाई मन्त्री नबनाउन पुनको दबाब छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बजेट निर्माणको तयारीका बेला लामो समयसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयमा बजेट निर्माण र विभागीय निर्णयमा कठिनाइ परेको भन्दै आलोचना बढेपछि मुख्यमन्त्री चौधरीले आज सानो आकारमा मन्त्रिपरिषद् विस्तार गरेको सरकारका प्रवक्ता एवं मन्त्री सन्तोष पाण्डेयले बताए । यसअघि गत बुधबार नै मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि कांग्रेसको आन्तरिक विवादले रोकिएको थियो ।
