लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् ।मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा उनी निर्वाचित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध भएकी हुन् । उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारु चौधरी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकले पनि उम्मेदवारी दिएका थिए ।

सत्ता गठनबन्धनमा कुरा नमिलेपछि उम्मेदवारी दिएकी चौधरीले अन्तत: सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार केसीलाई समर्थन गर्ने निर्णय गरेकी थिइन् ।

अन्त्यमा कांग्रेसका पाठकले पनि उम्मेदवारी फिर्ता लिएका थिए । सांसद् इन्द्रजीत थारुले उपसभामुखमा केसीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव गरेकोमा सांसद् चन्द्रकेश गुप्ताले समर्थन गरेपछि ज्येष्ठ सदस्य भुसालले केसीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्म सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित : माघ ३, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको उपसभामुखमा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार मेनुका खाँड केसीलाई समर्थन गर्ने भएको छ ।

सत्तारूढ गठबन्धसँग असन्तुष्टि जनाउँदै उपसभामुखमा निर्मलादेवी थारु चौधरीले मनोनयन दर्ता गरे पनि नागरिक उन्मुक्ति पार्टी अन्ततः पछि हटेको छ । केही असन्तुष्टि रहे पनि सम्बोधन भएपछि सत्ता गठबन्धनकी उम्मेदवार केसीलाई समर्थन गर्ने निर्णय भएको उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्मबहादुर चौधरीले बताए ।

लुम्बिनी प्रदेशमा आज सभामुख र उपसभामुख चयन हुँदैछन् । संसद् बैठक १ बजे बस्ने कार्यतालिका भए पनि दलहरुको छलफलका कारण ढिला हुँदा अहिले बस्ने तयारी भइरहेको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् ।

उपसभामुखमा नागरिक उन्मुक्ती पछि हटेपछि राप्रपाकी केसी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मात्रै मनोनयन बाँकी रहेको छ । संविधानमा सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने भन्ने व्यवस्था छ ।

प्रकाशित : माघ ३, २०७९ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×