कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

ठाकुरसिंह थारु

नेपालगन्ज — बाघको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा बिहीबार दिउँसो वडा नम्बर ४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको छ ।

बिहीबार पर्सोना गाउँदेखि ४ किलोमिटर टाढा रहेको जलहन सामुदायिक वनमा घाँस काटिरहेको बेला लिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको स्थानीयले बताएका छन् । सयौंको संख्यामा घटनास्थल पुगेका स्थानीय र प्रहरीले बाघबाट शव छुटाउन इलाका प्रहरी कार्यालय धामपुरको टोलीले दुई राउण्ड हवाइ फायर गरेको थियो । ‘एक राउण्ड प्रहार गर्दा बाघले झम्टिन खोज्यो । दोस्रो राउण्ड गोली प्रहार गर्दा बाघ भागेपछि शव ल्याउन सफल भएका छौं,’ धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले भने ।

बाघको आक्रमण परी ज्यान गुमाएका लिला एक्लै घरमा बस्दै आएकी छन् । उनको घरमा चारवटा बाख्रा छन् । छोरा बुहारी मजदुरीका लागि भारत गएका छन् ।

बुधबार राप्ती सोनारी गाउँपालिका-४ कै ३० वर्षीया महिला दुर्गा थारुलाई बाघले आक्रमण गरेको थियो । थारुले बाघलाई खुर्पा प्रहार गरी भाग्‍न सफल भएकी थिइन् ।

गाउँपालिकाको सामुदायिक वनमा एक महिनायता बाघले दर्जन बढि पटक आक्रमण गरिसकेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले राप्ती सोनारी गाउँपालिकामा पाटे बाघले दुई र नरैनापुरका एक जनाको ज्यान लिएको बताए । उनले बिहीबार भएको घटनास्थलमा हात्ती परिचालन गर्ने तयारी भइरहेको जनाए । ‘जति पनि घटना भइरहेका छन् ती सबै सामुदायिक वन क्षेत्रमा पर्छ,’ उनले भने,‘वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भएर होला आक्रमणका घटना बढिरहेका छन् ।’

करिब ५५० वर्ग किलो मिटर फैलिएको बाँके निकुन्जमा २१ पाटे बाघ छन् । यस वर्ष बाघको संख्या बढेको अनुमान गरिएको छ । राप्ती सोनारी गाउँपालिकाका सामुदायिक वन दक्षिणमा दुई दर्जन बढी सामुदायिक वन जोडिएका छन् । यसअघि बाँकेको आक्रमण राप्ती सोनारी गाउँपालिका नभएको स्थानीय बताउँछन् । ‘बाघले आक्रमण गर्न थालेको करिब ५/६ महिना हुन थाल्यो । त्यसअघि यस्ता घटना हुँदैनथ्यो,’ स्थानीय मंगल चौधरी भन्छन् ।

प्रकाशित : पुस २२, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?