कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घरखर्चमै सकिन्छ रेमिट्यान्स

जथाभावी खर्च गर्ने संस्कार नफेरिँदा युवाको ऊर्जाशील समय विदेशमै बित्दै
अमृता अनमोल

बुटवल — केशव शर्मा १९ वर्षदेखि साउदी अरबको रियाद सहरमा छन् । चार/पाँच वर्ष कमाउने र स्वदेशमै व्यवसाय गर्ने सोचसहित विदेश गएका उनले आफ्नो सपना पूरा गर्न सकेका छैनन् । ‘अब त कमाएको जम्मा होला भन्यो । घरमा त्योभन्दा बढी खर्च भएको हुन्छ,’ तीन महिनाको बिदामा घर आएका अर्घाखाँची छत्रदेवका ४४ वर्षीय केशवले भने, ‘कमाइबाट राम्रो प्रगति पनि भएन । आफ्नो उमेर र चाहना पनि जोगिएन ।’

घरखर्चमै सकिन्छ रेमिट्यान्स

कुनै सीपबिना साउदी गएका केशवले सुरुमा बगैंचामा मालीको काम गर्थे । त्यसबेला ८० हजार रुपैयाँ खर्च गरेर गएका उनले मासिक ८ सय रिंगेटबाट काम सुरु गरेका थिए । अहिले त्यही साहूको होटलमा सहयोगीको काम गर्छन् । मासिक १ हजार २ सय रिंगेट अर्थात् करिब ४० हजार रुपैयाँ कमाउँछन् । खानाबापतको ३ सय रिंगेटले आफ्नो खर्च पुर्‍याएर अरु सबै घर पठाउँछन् ।

आर्थिक प्रगति नभएको होइन । उनको यही कमाइको भरमा जाँदा लागेको खर्च र घरको ऋण तिरियो । त्यसपछि वृद्ध बाबुआमासहित दुई छोरा र पत्नीसहितको पाँच जनाको परिवार छत्रदेवबाट बुटवल झरे । बुटवलको देवीनगरमा दुइटा घडेरी पनि जोडे । ‘छोराछोरीले राम्रो शिक्षा पाउलान् भनेर आठ वर्षयता पहाडको घरसम्पत्ति त्यसै छोडेर बजारमा ल्याएको थिएँ । यता आएपछि खर्च ह्वात्तै बढ्यो । खाना, नाना, पढाइ, उपचार र भाडामा सबै रकम खर्च हुन्छ । एक सुको बचाउन सकिंदैन,’ केशवले दुखेसो पोखे, ‘आफ्नो त के बाआमा र पत्नीको घर बनाउने रहर पनि पूरा भएको छैन ।’

पछिल्लो समयमा हरेकजसो घरबाट युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । तर, सीपबिना वैदेशिक रोजगारीमा गएका अधिकांशको अवस्था केशवको जस्तै छ । न त त्यहाँ उनीहरूले राम्रो सुविधा पाउँछन् न कमाएको रकमले यहाँ उनीहरूको आर्थिक अवस्था सुध्रिएको छ । धेरैजसोको कमाइ अनुत्पादक क्षेत्रमै खर्च भएको छ । त्यही कारण केही समयका लागि भनेर वैदेशिक रोजगारमा गएका युवा उर्वर समयभर उतै अल्झेका छन् । त्यसमध्येका हुन्, गुल्मीको भार्सेका विजय मगर । उनी १७ वर्षदेखि साउदी अरबमा छन् । भार्सेको गाउँमा बस्ने परिवार बुटवल सहरमा आयो । कच्चीको साटो पक्की घर बन्यो । सरकारीमा पढ्ने छोराछोरी निजी स्कूलमा पढ्ने भए । कृषि पेसा गरेर खाने घरपरिवार बसीबसी खाने भयो । तर, २२ वर्षमा विदेश छिरेका विजय स्वदेश बस्न सक्ने कहिल्यै भएनन् ।

‘एकपछि अर्को व्यवहारले थिचिएको थिचिई छु । कसरी यहाँ बस्नू,’ तीन महिनाको छुट्टी बसेर फर्कन श्रम स्वीकृति लिन आएका उनले भने, ‘केही पैसा जोगाउन पाए यतै उद्यम गरुँला भनेको थिएँ, भएन । बजारमा खर्च बढ्यो । घरघडेरी र खानपानमै कमाएजति सकियो ।’ बुटवलको तामनगरमा एकतले घर बनाएका विजयले त्यसको १० लाख बढी ऋण नै रहेको बताए । ‘शिक्षादीक्षा मात्र होइन, समयअनुसार टीभी, मोबाइलदेखि छोराछोरीका पोसाक र पकेट खर्च बढिरहेका छन्,’ विजयले भने, ‘सधैं कसरी पुर्‍याउने भन्नेमै चिन्ता हुन्छ ।’

वैदेशिक रोजगारी आवश्यकता मात्रै होइन, सामाजिक दृष्टिकोणबाट समेत निर्देशित हुन थालेको छ । छोरालाई पढाउनुभन्दा समयमै वैदेशिक रोजगारीमा पठाउन पाए टन्टै साफ भन्ने मान्यता बढ्दो छ । वैदेशिक रोजगार र त्यसको प्रभावबारेका विज्ञ इक्विडियम नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपाल युवालाई विदेश पलायन भइरहने बाध्यतामा पारेको दाबी गर्छन् । उनका अनुसार घरको एक जना वैदेशिक रोजगारीमा गएपछि धेरैले आफ्ना परम्परागत पेसा छोडेर उसैप्रति निर्भर हुन्छन् । केही थातथलो र कृषि पेसा छोडेर सहर बजारमा झर्छन् । त्यहाँ खाँदालाउँदा, टीभी, मोबाइललगायतका विलासिताका सामान किन्दा अधिकांश रकम खर्चिने गरेको छ ।

‘कोही विदेश गयो कि खेती किसानी छोडिहाल्ने, किनेर खानुपर्ने बजारको बसाइ र सरकारीको साटो छोराछोरीलाई निजी बोर्डिङमा पढाउनै पर्ने, कच्ची भत्काएर भए पनि पक्की घर बनाउनैपर्ने यो गलत संस्कार हो,’ उनले भने, ‘यस्तो उपभोगवादी संस्कार नफेरेसम्म युवाहरू वैदेशिक रोजगारीको नाममा सबै ऊर्जाशील समय उतै खर्च गर्न बाध्य हुन्छन् । त्यसबाट आर्थिक हैसियत पनि बदलिंदैन ।’ यसले एकातिर आन्तरिक उत्पादन घटाइरहेको छ भने व्यापार घाटा पनि बढाइरहेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले मुलुमा वार्षिक रूपमा ७ देखि ८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । तर, वैदेशिक रोजगारीबाट फर्केको रेमिट्यान्स कसरी उत्पादक क्षेत्रमा लगाउने भन्नेबारे सरकारी नीति छैन । आप्रवासी महिला सरोकार केन्द्र रूपन्देही अध्यक्ष जानकी अर्याल वैदेशिक रोजगारीको रकम केमा लगाउने भन्नेबारे सरकारी योजना नहुँदा पनि धेरै परिवारले फजुलमै खर्च गर्ने गरेको बताइन् । ‘विदेशमा दुःख गरेको परिवारले देख्दैनन् । डिमान्डहरू बढाउँदै जान्छन् । रुखमै पैसा फलेको छ होला भनेजस्तो गरी खर्च गरिदिन्छन्,’ उनले भनिन्, ‘यसले रेमिट्यान्सअनुसार प्रतिफल देखाउन सकिएको छैन । वैदेशिक रोजगारीमा गएका युवा पनि उतै बसिरहन बाध्य छन् ।’ यस्तो अवस्था रोक्न स्थानीय तहले वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारलाई रेमिट्यान्स सदुपयोग, बचत र उत्पादनशील क्षेत्रमा लगानीबारे सिकाउन उनले सुझाव दिइन् ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा अर्थविज्ञ वामदेव क्षत्रीले स्वदेशमा कमाउन सक्ने रकम र विदेशमा कमाउन सक्ने रकमको तुलना गरेर मात्रै विदेश जाने परिपाटीको विकास गर्नुपर्ने बताए । अदक्ष कामदार विदेश जान रोक्न प्रदेश सरकारले सहजीकरण गरेर तालिम सिकाउने र रेमिट्यान्स उपयोग गर्न उद्योग, जलविद्युत्लगायतमा सेयर लगाउने परिपाटीको विकास गर्नेबारे छलफल भइरहेको उनले बताए । ‘लुम्बिनी प्रदेशमा विदेशबाट फर्केका कामदारलाई सीप परीक्षणदेखि रोजगारी दिने र सहुलियतमा ऋण दिनेसम्मका कार्यक्रम तय गरेका छौं,’ उनले भने, ‘यसको कार्यान्वयन भएमा फजुल खर्चमा सकिने रेमिट्यान्स उत्पादनमूलक काममा लगाउन र सधैभरि विदेश जाने युवालाई यता रोक्न सकिनेछ ।’

प्रकाशित : पुस १, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?