बेमौसमी वर्षाले पाल्पाका ५३४ हेक्टर धानखेतीमा क्षति - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसमी वर्षाले पाल्पाका ५३४ हेक्टर धानखेतीमा क्षति 

माधव अर्याल

पाल्पा — बेमौसमी वर्षाले पहाडी जिल्ला पाल्पामा ५ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रको प्रारम्भीक विवरण अनुसार २ सय ६९ दशमलव ७५ हेक्टर क्षेत्रफलको काटिएको धानबाली बगाएको छ ।

यसैगरी २ सय ६४ दशमलव ७५ हेक्टर क्षेत्रफलको धानबाली ढालेर क्षति पुगेको केन्द्रका प्रमुख कामना अधिकारी भट्टराईले जानकारी दिइन् ।

केही पालिकामा फोन सम्पर्क नभएकाले सबै तथ्यांक अझै आइसकेको नसकेको केन्द्रले जनाएको छ । तथ्यांक संकलनको काम भइरहेको र शुक्रबारसम्म सबै स्थानीय तहबाट आइसक्ने प्रमुख भट्टराईले बताइन् । ‘वर्षा रोकिएकाले सबै विवरण प्राप्त हुनेछ,’ उनले भनिन्, ‘क्षतिको पूर्ण विवरण त्यसपछि मात्र आउने छ ।’ उनका अनुसार जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाइन्छ ।

अविरल वर्षाले माडीमा पाक्न लागेको धानबालीमा खोला पसेको थियो । चिदीपानीको बुढीकोट, माडी, हुमीनको बग्चौरको तल्लो भाग, खहरे, कसेनी, पोखराथोकको तल्लो भाग, चिर्तुङधारा, दमकडा नजिकको खेतबालीमा खोला पसेको छ । बाँसटारीमा पनि खोला पसेर धानबालीमा क्षति पुगेको कृषकहरूले जानकारी दिएका छन् ।

माथागढी, बगनासकाली, रम्भा र तानसेन नगरपालिकाका विभिन्न स्थानमा पाक्न लागेको धानमा खोला पसेको बुढीकोटकी स्थानीय बिष्णु कुमारी घिमिरेले बताइन् । वर्षाले जिल्लाका अन्य स्थानमा पनि काटेको धान बालीमा ठूलो क्षति पुगेको छ । अर्गली, कचल, रामपुर, झडेवा, पूर्वखोला, अरुणखोला, कालीगण्डकी टार बेसीमा धानबाली लगाइन्छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । नेकपापछि एमालेसमेत विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

२ भदौमा पहिलो ठूलो दलको हिसावले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

प्रदेश सरकारमा आफ्नो सरकारको ६४ दिने अवधिको प्रगति प्रस्तुत गर्दै मुख्यमन्त्री शाक्यले आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरिन् । उनले आफू नेतृत्वको सरकारले समाजवाद उन्मुख सरकारको प्रारम्भिक खाका नै तयार भएको भन्दै त्यसको सार्वजनिक गर्ने तयारी रहेको समेत बताइन् । बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई भनाइ राख्ने समय दिएका थिए । त्यसक्रममा उनले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतिको विवरण समेत प्रस्तुत गरिन् ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । तर, उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । प्रदेशसभामा हाल कायम १०९ (सभामुखसहित) सांसद छन् । त्यसमध्ये गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।

प्रदेशसभामा बोल्दै नेता जमरकट्टेलले गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×