पाल्पा — अविरल वर्षासँगै बिहीबार बिहानै खसेको पहिरोमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५ हिउँदेखोला नजिकै खसेको पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरबहादुरको घरमै च्यापिएर मृत्यु भएको हो ।
पहिरोमा बेपत्ता ४ वर्षीय बालकको प्रहरी, सेना र सशस्त्र प्रहरीका साथै स्थानीयले खोजी गर्दा विद्यालय परिसरमा पहिरोले च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । लेदो माटो हटाउन एक्स्काभेटरको प्रयोग गरिएको थियो ।
पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोला नजिकै खसेको पहिरो र क्षतविक्षत घरहरु । तस्बिरहरु : माधव अर्याल/कान्तिपुर
सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूल्ठूला ढुंगासहितको पहिरोले घर पुरिँदा र बगाउँदा सात जना घाइते भएका छन् । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको स्थानीय अनिल गुरुङले बताए । ठूल्ठूला ढुंगा, माटोसहितको पहिरो आएपछि ज्यान जोगाउन भाग्ने क्रममा ७ जना पहिरोले बगाएर घाइते भएको प्रहरी निरीक्षक पचभैयाले बताए ।
७ जना पहिरोबाट जोगिएर भागेर ज्यान जोगाएका छन् । पहिरोमा पुरिएर घाइते भएका सुन्दरी गुरुङ, रमेश परियार, पूजा परियार, बलबहादुर पुन, दिपेश पुन, आकाश तामाङ, दिलबहादुर रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, बलबहादुर पुन र रमेश परियारको घर बगाएको छ । स्थानीय बासिन्दाले भने प्रहरी प्रशासनको ढिलाइले गर्दा घाइतेको उद्धारमा कठिन भएको गुनासो गरेका छन् । जतासुकै पहिरो खसेपछि घाइतेलाई अस्पताल लग्न कठिन भएको स्थानीयले बताए । पहिरोले कल्याणी आधारभूत विद्यालयको दुई वटा भवनका साथै शौचालय, खानेपानी टंकीमासमेत असर क्षति पुगेको प्रधानाध्यापक सुन्दर गाहाले बताए ।
पहिरो पीडितहरुलाई स्थानीयले कल्याणी आधारभूत विद्यालयमा खाने बस्ने व्यवस्था गरेको स्थानीय प्रेम श्रेष्ठले बताए । स्थानीय खानी सञ्चालक विष्णुबहादुर गाहाले खानाको प्रबन्ध गरेका छन् । प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको हिउँदेखोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पिपलडाँडा लगायतका स्थानमासमेत ठूलो पहिरो खसेको छ । पाल्पाकै आर्यभन्ज्याङ्देखि रामपुर जाने सडकका विभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका झुम्सा, हिउँदेखोला, गिटीखानी नजिक खसेको पहिरो पन्छाउन ढिलाइ हुने सडक डिभिजनले जनाएको छ ।
