कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा फेरि बढ्यो कोरोना संक्रमण

माधव अर्याल

पाल्पा — पाल्पामा चार दिनयता पुन: कोरोना संक्रमण बढेको छ । एक साता कमी हुँदै गएको कोरोना भाइरस संक्रमण पुन: बढेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

पाल्पामा फेरि बढ्यो कोरोना संक्रमण

खेतमा रोपाइँ सुरु भएको र ग्रामीण बजार क्षेत्रमा चहलपहल बढेकाले पनि कोरोना संक्रमण बढेको हुन सक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

चार दिनअघिसम्म १५ देखि २५ जनामा दैनिक संक्रमण पुष्टि भएकामा बढेर शनिबार एकै दिन ९८ जनामा संक्रमण देखिएको हो । पाल्पा अस्पताल कोभिड ल्याबमा परीक्षण किट अभावले कुनै पनि स्थानीय तहले पीसीआर गरेका छैनन् भने एन्टिजेन परीक्षणमा निस्दी गाउँपालिकामा मात्रै एकै दिन ८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शनिबार निस्दीमा यति धेरै जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । निस्दीका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर मगरका अनुसार सर्वसाधारणको लापरबाहीकै कारण निस्दीको समुदायमा कोरोना संक्रमण बढेको हो । ज्यामिरेका वडाध्यक्ष गगनसिंह सोतीका अनुसार ज्यामिरे, हुवास, चारघरे, पोखरीछाप लगायतका टोलमा बढी संक्रमित छन् ।

रामपुरमा कोरोना भाइरस संक्रमित भए पनि परीक्षण नै नगरिएको गुनासो स्थानीयको छ । रामपुरमा शनिबार ९ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा पोजिटिभ पुष्टि भएको छ । लुम्बिनी मेडिकल कलेजमा शनिबार १९ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा पुष्टि भएको छ । शुक्रबार भने २७ जनामा मात्र पोजिटिभ पुष्टि भएको थियो । बिहीबार ४२, बुधबार ७१ जनामा कोरोना पुष्टि भएको थियो ।

७१ मध्ये निस्दीमा ३१ र तानसेनमा १३ जनामा कोरोना पुष्टि भएको थियो । पाल्पामा १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ४ सय ६० छ । अहिलेसम्म जिल्लामा ४ सय २५ जना होम आइसोलेसनमा छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?