वैदेशिक रोजगारी छोडेर कृषि- लुम्बिनी - कान्तिपुर समाचार

वैदेशिक रोजगारी छोडेर कृषि

गाउँमै तरकारीखेती र पशुपालनमा युवा आकर्षित हुँदै
वीरेन्द्र केसी

अर्घाखाँची — भारतबाट फर्केका युवा देवबहादुर खड्काले सन्धिखर्क नगरपालिका–१० बिहारमा प्लास्टिक टनेलभित्र गोलभेंडा, सिमी, बोडी, घिरौला, काँक्रालगायत तरकारी लटरम्मै फलाएका छन् । कोभिड–१९ को महामारीमा उनलाई सन्धिखर्क बजार र घरमै आउने ग्राहकलाई तरकारी पुर्‍याउन भ्याइनभ्याइ छ ।

कोरोना संक्रमणका बेला तरकारी माग धेरै भयो । घरमा यत्तिकै बस्नुभन्दा खालि जमिनमा आफैं उत्पादन गरेर उपभोक्तालाई ताजा तरकारी खुवाउन यतिबेला उनी सक्रिय छन् । ‘गोलभेंडा नपाक्दै बिक्री हुन्छ,’ खड्काले भने, ‘अन्य तरकारीको माग पनि उस्तै छ ।’ कोरोना महामारी लाग्यो भनेर चिन्ता मानेर यत्तिकै बस्नुभन्दा बारी खोर्सेर तरकारी उत्पादन गरेको उनले बताए ।

उनले वर्षमा ५ लाखभन्दा बढी बैंक बचत गर्छन् । कोरोनाका कारण सन्धिखर्कका व्यापारीले बुटवल र तराईबाट तरकारी ल्याउन सहज छैन । संक्रमण फैलिने डरले धेरैले गाउँकै तरकारी खरिद गरेर बिक्री गर्छन् । यस बेला तरकारी बजारमा अभाव छ । गाउँमा व्यापारी खरिद गर्न पुगेपछि खड्का उत्साहित छन् । लामो समय भारतमा रोजगारी छाडेर स्वदेश आएका खड्काले अहिले तरकारीसँगै दूध उत्पादनका लागि दुई मुर्रा भैंसी पालेका छन् । ‘अब कृषितिरै लाग्छु,’ उनले भने, ‘युवा जनशक्तिले कृषि उत्पादन गरेर गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्छ ।’ युवा उमेरमा विदेशी भूमिमा रोजगारी खोज्दै जाने, परिवार सहरमा ल्याउन र गाउँमा वृद्धवृद्धा मात्रै हुँदा उब्जनी हुने खेतीयोग्य जमिन बाँझिँदै गएर उत्पादन घट्दो भएको खड्काले बताए ।

पाणिनि गाउँपालिका–१, पणेनाका रेतवीप्रसाद पौडेलले पाखोबारीमा तरकारी खेती गरेका छन् । सुन्तलाका बोटमुनि काउली, बन्दा, मुला, साग, भिन्डी, फर्सीलगायत तरकारी उत्पादन भएका छन् । ‘पाखोबारीमा तरकारीबाट मनग्य आम्दानी भएपछि विदेश जान छाडें,’ उनले भने, ‘कोरानाको बेला गाउँमै तरकारी उत्पादन गरेर सहर पठाएँ । आफ्नै ठाउँमा कृषिकर्मले भविष्य उज्ज्वल छ ।’ उनले तरकारी र सुन्तलाबाट वर्षमा ६ लाख रुपैयाँ आम्दानी गर्छन् । युवा कृषक चिरञ्जीवी पौडेलले बाँझो बारी खनेर तरकारी फलाएका छन् । ‘पाखोबारीमै दुःख गरेपछि तरकारी उत्पादन राम्रो छ,’ उनले भने, ‘वर्षाको तरकारी तराईका सहरबाट माग बढी हुन्छ । कोरोनाका बेला सहरबाट पहाडको तरकारी धेरै खपत भयो ।’

गाउँमा केही गर्न नसकिने भन्दै वैदेशिक रोजगारीमा गएका युवामध्ये केहीले फर्केपछि बारी कोरेर तरकारी खेती, मसलाबाली गरेका छन् । दूध उत्पादनका लागि उन्नत जातका गाईभैंसी पाल्ने र खसीबोकाका लागि बाख्रा पाल्ने गरेका छन् । राम्रोसँग काम गरेर रोगकिराबाट जोगाउन सकेमा कृषिबाट पनि स्वरोजगार बन्न सकिने उनले बताए । कृषि उत्पादन गर्दा पूरै शरीर हिलाम्ये र धूलो हुन्छ । माटोमा काम गर्दा हातखुट्टा फुट्न सक्छन् तर ताजा तरकारी खान पाइने र बिक्री गरेपछि मनग्य आम्दानी गर्न सकिने उनले बताए । केही वर्षदेखि नरपानीमा युवा कृषक गुणनिधि न्यौपानेले पाखोबारीमा तरकराी खेती गरेका छन् । भिरालो बारीमै बोटमा मल र जल मिलाउन सकेमा उब्जनी राम्रो हुन्छ ।

प्रकाशित : असार ९, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

‘गोरे दाइ’ को अवसान

काशीराम डाँगी

रोल्पा — ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ पुस्तकका लेखक थबाङका गोरे दाइ अर्थात् पूर्णबहादुर रोकामगरको निधन भएको छ । गत साता थबाङमा उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता उनी थबाङका पुराना कम्युनिस्ट कार्यकर्तामध्येका एक थिए ।

तत्कालीन सांसद स्वर्गीय बरमन बुढामगरसँगको संगतले उनी कम्युनिस्ट बनेका थिए । पूर्णबहादुरले उक्त पुस्तक ०६८ सालमा प्रकाशित गरेका हुन् । पुस्तकमा थबाङलाई तत्कालीन माओवादी सशस्त्र संघर्षसँग जोड्ने प्रयास गरेका छन् ।

थबाङको भौगोलिक संरचना, इतिहास, सामाजिक र सांस्कृतिक पक्ष एवं प्राकृतिक पक्षबारे उल्लेख गरिएको उक्त पुस्तकमा राजनीतिक सम्बन्धलाई मुख्य महत्त्व दिइएको छ । माओवादीद्वारा सञ्चालित १० वर्षे लामो संघर्षको मुख्य थलोका रूपमा चिनिएको थबाङ कसरी कम्युनिस्ट केन्द्र र थलो बन्यो भन्ने चर्चा उक्त पुस्तकमा छ । पुस्तकका लेखक पूर्णबहादुरले थबाङबाहिरको कम्युनिस्ट नेतृत्वलाई स्थानीयले कसरी सुरक्षित र संरक्षित गरे भन्ने नालीबेली पनि पुस्तकमा उल्लेख गरेका छन् ।

वर्ग संघर्षको सुरुवात र स्थानीयको सहभागिताबारे पुस्तकमा फेहरिस्त उल्लेख गरिएको छ । ‘पुस्तकमा स्थानीयको राजनीतिक संघर्ष, सहभागिता र बलिदानीबारे मुख्य चासो र वर्णन गरिएको छ,’ नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष थबाङ निवासी मौसक रोकामगरले स्मरण गरे, ‘थबाङलाई उक्त अवधि र संघर्षसँग जोडेर लेखकले स्थानीयको पहिचान र महत्त्व झल्काएका छन् ।’

पूर्णबहादुर आफैं पनि कम्युनिस्ट हुनुपर्दा भूमिगत भए । धेरैपटक घर छोडेर हिँडे । स्थानीयदेखि राष्ट्रिय सवाल र एजेन्डाबारे बोल्दै र लेख्दै हिँडे । ०१३ सालमा पहिलोपटक थबाङमा कम्युनिस्ट संगठन गठन गर्दा उनी पनि सम्मिलित थिए । बरमन बुढामगरको संयोजकत्वमा गठन भएको पहिलो पुस्ताको उक्त कमिटीका ६ जना संस्थापकमध्ये उनी पनि थिए । पञ्चायतकालीन अवधिमा उक्त कमिटी ०२५ सालसम्म क्रियाशील रह्यो । त्यस क्रममा उनले थुप्रै यातनासमेत पाए । ००६ सालमा थबाङमा जन्मेका उनले ०३२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

पूर्वसांसद एवं थबाङ निवासी सन्तोष बुढामगरले पूर्णबहादुरको राजनीतिक इच्छाशक्ति र योगदानको सही मूल्यांकन गर्नु आवश्यक हुने बताए । कम्युनिस्ट आन्दोलनसम्बन्धी थबाङ सधैं नै विश्वविद्यालय भएको दाबी गर्दै नेता बुढामगरले पूर्णबहादुरले आफू जिउँदो हुँदै अतुलनीय योगदान हुने गरी पुस्तक लेख्न सकेकामा गौरव अनुभूति भएको बताए ।

पूर्णबहादुर निकै साधारण जीवनमा बाँचे । अध्ययन र छलफलमा ज्यादै रुचि राख्ने उनी पछिल्लो अवस्थामा भने कम्युनिस्ट आन्दोलन विचलित भएको तर्क गर्थे । पूर्णका छोरा अनरा र छोरी लालकुमारी शिक्षण पेसामा आबद्ध छन् । बुबाको साधारण जीवनशैलीबाट प्रेरित भई शिक्षा क्षेत्रमा आएको उनीहरूले बताए । राजनीतिको केन्द्रीय तहसम्म पुगेका पूर्णका भाइ प्रवेश रोकामगर केही वर्षयता निष्क्रिय छन् । अर्गानिक कृषि उत्पादनमा लागेका रोकामगर तत्कालीन माओवादीका पूर्वजिल्ला इन्चार्जसमेत हुन् । पूर्णकी बहिनी लली रोका तत्कालीन संकटकालमै मारिएकी थिइन् ।

प्रकाशित : असार ९, २०७८ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×