कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा जेठ ११ गते सम्म लम्बियो निषेधाज्ञा

कमल पन्थी

बर्दिया — कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले शनिबारदेखि थप ११ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । जेठ १ देखि ११ गते सम्म निषेधाज्ञा थपिएको छ ।

बर्दियामा जेठ ११ गते सम्म लम्बियो निषेधाज्ञा

यसअघि पहिलोपटक बैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको थियो । दोस्रोपटक २० गते देखि ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको छ ।

खाद्यान्न,फलफूल र दैनिक उपभोग्यका पसल बिहान ६ देखि ९ बजेसम्म खुला रहने छ । यसअघि गरिएको निषेधाज्ञामा हुलाकी र पूर्व–पश्चिम राजमार्गमा कडाइ गरेपनि सहर र गाउँका गल्ली र सडकमा भीडभाड बढेको छ । सुरक्षाकर्मी ती सडक र गल्लीमा गस्ति नबढाएका कारण भीडभाड बढेको स्थानीयले गुनासो गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जेठ १ गतेबाट सवारी साधन र आउजाउमा जाँच कडा पार्ने बताए । 'स्वास्थ्य संक्रमण ऐन अनुसार अत्यावश्यक काम बाहेक र भारतबाट अवैद्यरुपमा प्रवेश गरे एक महिना जेल पठाउने छौं,’ उनले भने, ‘कोरोनाबाट बचाउन पहिलो दायित्व भएकोले निषेधाज्ञाको पालना नगर्ने माथि कडा कारबाही हुनेछ ।'

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमितहरु खुलेआम घर बाहिर निस्केर टोल र बजारमा घुम्ने गरेकाको रेकर्ड राख्ने र कारबाही गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी फैलिएपछि बर्दियामा हालसम्म ४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९६ रहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?