१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘बेहाल अवस्था छ, सहयोग गर्नुस्’

संक्रमितले जिल्ला अस्पतालका बरन्डा भरिए
मनोज पौडेल

कपिलवस्तु — जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले ‘संक्रमितको उपचारमा खटिएको म एक डाक्टर’ भन्दै बिहीबार बिहान बिरामीले भरिएको तस्बिरसहित फेसबुकमा स्टाटस लेखे । उनको त्यो भावुक स्टाटसले धेरैलाई छोएको छ । यहाँका अस्पतालको कारुणिक अवस्था झल्काएको छ ।

‘बेहाल अवस्था छ, सहयोग गर्नुस्’

उनले लेखेका छन्, ‘स्थिति विकराल छ । तर तर्साउन खोजेको होइन । अवस्था साँच्चै बेहाल छ । अस्पतालका इमर्जेन्सी, वार्ड, आईसीयू र कोरोना अस्पताल भरिएका छन् । मृत्युदर दिनानुदिन बढ्दो छ । अक्सिजन र औषधि मात्रै चाहिने लक्षण देखिएका संक्रमित राख्ने ठाउँ छैन । आईसीयू र भेन्टिलेटर कहाँ हो कहाँ, अब अति भइसकेको छ । अझ बेहाल हुनेवाला छ । हामी स्वास्थ्यकर्मी हात जोडेर बिन्ती गर्छौं । सरोकारवालाले केही गर्नूस् । राजनीतिक भागबन्डा गर्दै बस्ने होइन । बाँचियो भने धेरै गरौंला । नत्र छटपटाउँदै मर्नुको विकल्प छैन । जुन भइरहेको छ । कृपया जसले सक्छ सहयोग गर्नूस् । स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरणा दिनूस् ।’

यहाँ सुविधा उपलब्ध एकमात्र जिल्ला अस्पताल अहिले कोरोना संक्रमित बिरामीले भरिएको छ । इमर्जेन्सी र अस्पतालको बरन्डामा २० जना बिरामी छन् । बेड नपाएर भुइँमा उपचार गरिरहनुपरेको छ । लक्षण देखिएका तर स्वाब परीक्षण रिपोर्ट नआएका बिरामी पनि उत्तिकै छन् । उनीहरू सबैलाई अक्सिजन चढाउनु परेको छ । नजिकै चपरतल्लामा रहेको साविकको महिला विकास कार्यालयमा बनाइएको कोरोना अस्थायी अस्पतालका २० बेड पनि संक्रमितले भरिएका छन् । ‘अब राख्ने ठाउँ छैन,’ मेडिकल अधिकृत डा. क्षत्रीले भने, ‘आएकालाई बरन्डामा राख्नुपर्छ ।’ अस्पतालको आईसीयू र वार्डमा २५ जना बिरामी छन् । यहाँ जति बिरामी छन्, सबैलाई औषधि र अक्सिजन सपोर्ट आवश्यक रहेको क्षत्रीले बताए ।

बिहीबार तौलिहवास्थित कोरोना अस्थायी अस्पतालमा यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकाका ५८ र ४५ वर्षे पुरुषको मृत्यु भयो । दैनिक ४० अक्सिजनका सिलिन्डर खपत हुन्छन् । दिनदिनै अक्सिजन सिलिन्डर बुटवलबाट भरेर ल्याउनुपर्छ । ‘एक पटकको खर्च ५०/६० हजार पुग्छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले भने, ‘कसरी थेग्नु खर्च ?’ जनशक्ति अभाव हुँदा अहिले ओपीडी बन्द गरिएको छ । इमर्जेन्सीमा दाँत र आँखाका डाक्टर खटाइएको छ । एउटा अस्पतालको जनशक्तिले दुईवटा अस्पताल चलाउनुपरेको छ । बेग्लै ठाउँमा कोभिड अस्पताल र पीसीआर ल्याब चलाइएको छ । त्यहाँ अस्पतालकै जनशक्ति गएका छन् ।

आइतबारदेखि सञ्चालित अस्पतालमा एक डाक्टर र चार नर्सिङ स्टाफ २४ सै घण्टा खटिएका छन् । अस्पतालको जनशक्तिलाई तीन भागमा बाँडिएको छ । एक समूहले फिभर क्लिनिक, दोस्रोले प्रसूति सेवा र इमर्जेन्सी तथा तेस्रोले अस्थायी कोभिड अस्पताल चलाएका छन् । अहिले अस्पताललाई १० डाक्टर र २० नर्सिङ स्टाफ आवश्यक भएको डा. बन्जाडेले बताए । त्यस्तै आठ जना ल्याब र २० भन्दा बढी सफाइ र सुरक्षाकर्मीको आवश्यकता रहेको उनले बताए । ल्याबको रिएजेन्ट सकिएर बुधबार कामै बन्द भयो । ‘काठमाडौंबाट एक हजार रिएजेन्ट आएको छ,’ ल्याब प्रमुख राकेश साहले भने, ‘त्यो साता दिन चल्छ ।’ त्यसपछि आउने नआउने कुनै ठेगान नभएको उनले बताए । जनशक्ति अभाव हुँदा ल्याब पनि फुलफेजमा चलाउन नसकिएको उनले बताए ।

अस्पतालमा बजेट अभाव चर्को छ । साताअघि प्रदेश सरकारले अक्सिजन पाइप बिछ्याउन अस्पताललाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर रकम अहिलेसम्म आइपुगेको छैन । ‘अहिले चाहिएको छ,’ डा. जाबेद खानले भने, ‘कहिले टेन्डर निकाल्ने हो, कहिले जोड्ने हो ?’ जिल्लाका सबै ठाउँबाट उपचारका लागि बिरामी यहाँ आउँछन् । कपिलवस्तु नगरपालिकाले सहयोग गर्ने बचन दिएको छ । अन्य स्थानीय तह कसैले पनि कुनै सहयोग गरेका छैनन् । अघिल्लो वर्ष जेठमा यहाँका स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा ६/६ लाख रुपैयाँ दिने निर्णय गरेका थिए । अहिलेसम्म कसैले रकम दिएका छैनन् । साधनस्रोत कम भएकाले उपचारलाई प्रभावकारी बनाउन समस्या भइरहेको अस्पताल व्यवस्थापक रत्नाकर शुक्लाले बताए । ‘हाम्रो कुरा सुन्दैनन्,’ उनले भने, ‘त्यही भएर हारगुहार गरेका हौं ।’

प्रकाशित : वैशाख २४, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?