वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा शपथ ग्रहण

वैशाख १५, २०७८

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मन्त्री, राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

एमालेका मुख्य सचेतक केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुनी, सरेश नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण र सरस्वती बस्नेतले सामाजिक विकासमन्त्रीको रुपमा शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यस्तै सांसद रामकुमार अधिकारीले सामाजिक विकास राज्यमन्त्रीको रुपमा मुख्यमन्त्री डोरमणि पौडेलबाट शपथ लिएका छन् । 

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयहरुमा मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्री बस्नेत प्रदेशको पहिलो महिलामन्त्री भएकी छन् । यसअघि प्रदेशसभामा महिला सांसदहरुले मन्त्री नभएको भन्दै मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराउँदै आएका थिए । 

वाग्मती प्रदेशमा राज्यमन्त्री पहिलो पटक नियुक्त गरिएको हो । यसअघि मुख्यमन्त्री पौडेलले राज्यमन्त्री बनाउने तयारी गरे पनि सफल भएका थिएनन् । वाग्मती प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । कुल एक सय १० सांसद रहेको वाग्मतीमा एमालेको ५७ सांसद रहेका छन् ।


सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully