बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

चैत्र ३, २०७७

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

दिउँसो ३ बजेतिर निगुरो टिप्न गएका ४ महिलामध्ये ठाकुरबाबा नगरपालिका—७ मोहनापुरकी ६२ वर्षीया डल्ली राउतको बाघको आक्रमणमा परी मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जनाए । 

अन्य ३ जना महिला सकुशल रहेका छन् । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले चोरी बाटो हुँदै उनीहरु निकुञ्जको सीमा क्षेत्रभन्दा करिब ५ किलोमिटर भित्र पसेको बताए । सुरक्षा व्यवस्था कडा हुँदाहुँदै उनीहरु निकुञ्जभित्र चोरी बाटो हुँदै निगुरो टिप्न गएका थिए । निकुञ्ज घटनास्थल नजिक राउतको शव फेला परेको श्रेष्ठले जनाए । 

गत साउनयता बर्दियामा बाघको आक्रमणबाट ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा निकुञ्ज प्रशासनले सचेतना गराइरहेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully