बर्दियामा बाघको आक्रमणमा परी एकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

बर्दियामा बाघको आक्रमणमा परी एकको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका एक व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गएको छ ।

सोमबार दिउँसो २ बजेतिर बाघले आक्रमण गर्दा राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए ।

उनीसँगै गएका अन्य गोठालले भागेर निकुञ्जलाई जानकारी गराएका थिए । निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोलीले खोज तलाश गर्दा साँझ ६ बजे झाडीमा मृत अवस्था चौधरी फेला परेका थिए ।

उक्त घटना सदरमुकामदेखि करिब ५० किमी पश्चिममा भएको हो । गत असार यता बाघको आक्रमणबाट गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा ७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

सीमाबाट दुई महिलाको उद्धार

कमल पन्थी

बर्दिया — सशस्त्र सीमा सुरक्षा बल बीओपी धनौरा तारातालले भारत लैजान लागिएका दुई महिलालाई सोमबार बिहान उद्धार गरेको छ । 

मधुवन नगरपालिका—७ स्थित नेपाल–भारत सिमानाको सीमा स्तम्भ नम्बर ७२ बाट दुई महिलालाई उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

उद्धार गरिनेमा झापा दमक—१ की ३७ वर्षीया र मोरङ सुनवेस नगरपालिका—३ की ३३ वर्षीया महिला रहेका छन् ।

उनीहरुलाई खाडी मुलुकमा रोजगारी दिने प्रलोभनमा दिल्ली लैजान लागेका गुलरिया—३ का कन्हैयालाल यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि संस्थामार्फत प्रहरीलाई बुझाइएको उनले जनाए । उनीमाथि मानव बेचबिखन गर्ने उद्देश्यले महिलाद्वयलाई पठाउन लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका महिलासँग राहदानी नभएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×