३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

कोरोना संक्रमित नबोक्ने एम्बुलेन्सलाई कारबाही

अमृता अनमोल

बुटवल — प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमित बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही प्रक्रिया सुरु गरेको छ । सेवाग्राहीले बोलाएको ठाउँमा नजाने र संक्रमित बिरामी हो भन्ने थाहा पाएपछि अन्य बहाना बनाएर  बिरामी नबोक्ने एम्बुलेन्सलाई कारबाही थालेको हो ।

कोरोना संक्रमित नबोक्ने एम्बुलेन्सलाई कारबाही

प्रदेशको स्वास्थ्य विकास निर्देशनालयमार्फत सोमबार जिल्ला प्रशाशन कार्यालयलाई पत्र लेख्दै ३ वटा एम्बुलेन्सलाई कारबाही गर्न निर्देशन दिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । पर्रोहा स्वास्थ्य चौकी रुपन्देहीले सञ्चालन गरेको लु १ झ २८१, युवा क्लब तिलोत्तमाको लु २ च ६१८० र ध्रुवतारा युवा क्लबले सञ्चालन गरेको लु २ च ६१२७ नम्बरका एम्बुलेन्सलले बिरामी बोक्न नमानेका हुन् ।

यी एम्बुलेन्सले बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका नेपालगन्जका बिरामीलाई लैजान नमानेपछि निर्देशनालयले कारबाही प्रक्रियामा लगेको हो । निर्देशनालयले सेवाग्राहीको गुनासोका आधारमा बिरामी बोक्न नमान्ने अन्य १२ एम्बुलेन्सलाई मौखिक रुपमा सचेत गराएको छ । स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदा पनि कोभिड–१९ का बिरामी बोक्न नमान्ने जो कोही एम्बुलेन्सलाई कारबाही प्रक्रिया थाल्ने मन्त्री बरालको भनाइ छ ।

एम्बुलेन्स नपाइने गुनासो बढेपछि सेवालाई पारदर्शी बनाउन स्वास्थ्य निर्देशनालयले प्रविधिमा आधारित एम्बुलेन्स सूचना केन्द्र स्थापना गरेको छ । एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो गराउने उद्देश्यले प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस जडान गरी गरिएको हो ।

चौबीसै घण्टा हेल्पलाइन सेवा उपलब्ध भएकाले आकस्मिक रुपमा एम्बुलेन्स चाहिने सेवाग्राहीले फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाउन सक्नेछन् । हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट सो स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स यकिन गरी उक्त एम्बुलेन्सको चालकको मोबाइल नम्बर सेवाग्राहीलाई उपलब्ध गराउन थालेको निर्देशक डा. विनोद गिरीले बताए ।

एम्बुलेन्सले सेवाग्राहीलाई सेवा दिए/नदिएको जानकारी तुरुन्त अनुगमन गरिनेछ । मोबाइल प्रयोगकर्ताले मोबाइल एपमा रहेको एम्बुलेन्स नेपाल एप्लिकेसन डाउनलोड गरी जीपीएस लोकेसनमा आफ्नो नजिक रहेको एम्बुलेन्स देख्न सक्नेछन् । प्रदेश ५ का १२ जिल्लामा हालसम्म ३५० वटा एम्बुलेन्स दर्ता भएका छन् ।

प्रकाशित : भाद्र ९, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?