मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि ३८ जनालाई सारियो


बाँके — कोरोनाबाट आइतबार एक युवकको मृत्यु भएको नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका अन्य ३८ जनालाई त्यहाँबाट सारिएको छ । उनीहरूलाई जयकिसान माविको क्वारेन्टाइनमा लगिएको हो ।


मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि आइतबार साँझ सबैलाई सारिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइद खानका अनुसार जयकिसान माविमा यसअघि नै ६० जना छन् । दीपेन्द प्राविबाट आएकाहरूलाई ठाउँ नपुगेकाले टेन्टमा राखिएको छन् । ‘उनीहरू त्यहाँ बस्न नमानेपछि यहीँ टेन्ट बनाएर राखेका छौं,’ उनले भने, ‘थप क्वारेन्टाइनका लागि ठाउँ खोज्दै छौं ।’
नरैनापुरका १२ स्थानमा रहेका क्वारेन्टाइनमा अझै ७ सय ५९ जना छन् । कोरोनाले एक जनाको मृत्यु भएपछि गाउँले त्रस्त छन् । ‘गाउँपालिकाको एक्लो व्यवस्थापनले गाउँले नै क्षति बेहोर्नुपर्यो,’ वडाध्यक्ष कृष्णचन्द्र मार्यले भने, ‘हामी काम गर्न नै सकिरहेका छैनौं ।’
नरैनापुर–५ को उक्त क्वारेन्टाइनमा मुम्बईबाट आएका ती युवकसहित ३९ जनालाई राखिएको थियो ।