बर्दियाका संक्रमित कालीमाटीमा व्यापार गर्थे

गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ ।

जेष्ठ ३, २०७७

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भने बर्दिया नार्खु-११ का महिला भनी गलत सूचना प्रवाह गरिएको थियो ।

कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं गएका थिए । जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ रिपोर्ट आएको बताए । उनको काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

उनी चढेको ट्रक धनगढीका साहुको भएको र चालक-सहचाकलसँगै काठमाडौं गएको स्वास्थ्य प्रमुख गिरीले जनाए । उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । 

शनिबार दिउँसो उनको गाउँका कसैलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उक्त गाउँ आसपास करिब आधा किमि वरिपरि सिल गरिएको छ । बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully