कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेश ५ मा संक्रमितको व्यवस्थापन जटिल बन्दै

सीमाबाट भित्रनेहरू बढेपछि आईएचआरलाई अनुगमन र सहयोगका लागि अपिल
अमृता अनमोल

बुटवल — कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश ५ मा व्यवस्थापन र उपचारमा समस्या देखिन थालेको छ । अस्पतालका बेडजति कोरोनाकै उपचारमा छुट्ट्याउनुपर्ने अवस्था निम्तिएको छ ।

प्रदेश ५ मा संक्रमितको व्यवस्थापन जटिल बन्दै

अहिलेसम्म बाँके र बर्दियाका २६ जनालाई नेपालगन्जमा राखिएको छ । रूपन्देही, कपिलवस्तु तथा नवलपरासी पश्चिमका ६८ जनालाई रूपन्देहीमा व्यवस्थापन गरिँदै छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा ३६ बिरामी छन् । ८ बिरामी रहेको भीम अस्पताल भैरहवामा बुधबार र बिहीबार भेटिएका थप २३ जनालाई राखिँदै छ । प्रदेश सरकारले बुटवलमा ५० र भैरहवामा ३५ बेडलाई कोरोना विशेष बनाएको थियो । बिरामीको चाप बढेपछि भीम अस्पतालमा यसअघि सञ्चालन गरिएका ५० बेडलाई कोरोना संक्रमित राख्ने गरी व्यवस्थापन थालिएको छ ।

त्यहाँका रहेका अन्य बिरामीलाई मंगलबार र बुधबार भैरहवा मेडिकल कलेजमा सारिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । उनका अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताललाई २ सय बेडमा रूपान्तरण गर्न प्रक्रिया थालिएको छ ।

दाङको बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा अहिलेसम्म शंकास्पद बिरामी मात्रै राखिएको छ । ‘अब दाङ र त्यस पश्चिमका संक्रमितको दाङ र बाँकेमा उपचार हुनेछ,’ मन्त्री बरालले भने, ‘दाङपूर्वका जिल्लाका बिरामीको रूपन्देहीमा उपचार हुनेछ ।’ शंकास्पद बिरामी बढेपछि संघीय सरकारले बिहीबार प्रदेश सरकारलाई करिब १ हजार थप किट पठाउँदै छ ।

भारतका संक्रमित सहर हुँदै सीमा क्षेत्रबाट लुकीछिपी आउने व्यक्तिका कारण अहिले प्रदेश ५ उच्च जोखिममा छ । भारतले दैनिक एक हजारसम्म व्यक्ति यहाँको सीमाक्षेत्रमा ल्याएर छाडिदिने गरेको छ । पछिल्लो २ दिनमा मात्रै ४ हजार ३ सय जना प्रदेश भित्रिएका छन् । समस्या बढेपछि प्रदेश ५ सरकारले बुधबार संघीय सरकारलाई इन्टरनेसनल हेल्थ रेगुलेसन (आईएचआर) मार्फत अनुगमन र सहयोगका लागि पत्र पठाएको सामाजिक विकासमन्त्री बरालले बताए ।

बिहीबार बिहानसम्म प्रदेशका ९४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वाब संकलन गरिएका ४ हजार १ सय २० मध्ये ६ सय ४९ जनाको नतिजा आउन बाँकी छ । ८ हजार २ सय १९ जना क्वारेन्टाइनमा छन् । ३ दिनयता भित्रिएका करिब ४ हजारको अभिलेखीकरण प्रक्रिया बिहीबारबाट मात्रै सुरु हुने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?