कोरोना कोषमा ११ करोड, उपयोग कतै भएन

चैत्र २८, २०७६

अमृता अनमोल

बुटवल — प्रदेश ५ सरकारले दुई साताअघि स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा ११  करोड ७५ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ । उक्त रकम उपयोगका लागि बनेको निर्देशिका चैत १० मा मन्त्री परिषद बैठकले स्वीकृत गरेपनि कोषको रकम अहिलेसम्म कतै उपयोग भएको छैन । 

माग, आवश्यकता र निर्देशिकामा तारतम्य नमिल्दा उपयोग नभएको हो ।

निर्देशिकामा कोषमा जम्मा भएको कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक आइसोलसन अस्पताल स्थापना र सञ्चालन गर्न, कोरोना भाइरका कारण मानवीय क्षति हुन नदिन बिरामीको उपचार गर्न र उपकरण किन्न खर्च गरिने उल्लेख छ ।


यस्तै, कोरोना भाइरसका कारण ज्यान गुमाउने परिवारलाई राहत दिने एवं प्रदेश सरकारले निर्णय गरेका कुनै कोरोना विशेष कार्यक्रममा लगाउन सकिने बताइएको छ । सबै उद्देश्य अनुसार रकम आवश्यक पर्ने भएपनि प्रक्रिया पुर्याउन नसक्दा कोरोना विशेष अस्पतालहरुले रकम माग गरेका छैनन् ।


कोषको सामाजिक विकास मन्त्री सुदर्शन बराल संयोजक छन् । मन्त्रालयका सचिव गोपीकृष्ण खनाल सदस्य सचिव छन् । सदस्य सचिव खनालले कोषको रकम कोरोना विशेष अस्पतालको व्यवस्थापन र बिरामीको उपचारका लागि लगाउने गरी यथावत राखेको बताए । प्रदेशमा रुपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुण्डी र बाँकेको नेपालगन्जमा गरी ४ वटा कोरोना विशेष अस्पताल छन् । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully