कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्‍वारेन्टाइनको बेहाल : तथ्यांक न योजना

रोल्पमा भारतका विभिन्न ठाउँबाट आएका ५ सय जना घरमै बसेका छन्
काशीराम डाँगी

रोल्पा — कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहमा क्‍वारेन्टाइन बनाइए पनि कति जना कहाँबाट आए भन्ने तथ्यांक छैन। स्थानीय तहले निश्चित तथ्यांक नपठाएकाले यकिन जानकारी पाउन नसकिएको स्थानीय प्रशासन कार्यालयको भनाइ छ। त्यतिमात्रै होइन स्थानीय तहले कति संख्यामा क्‍वारेन्टाइन बनाएका छन् भन्नेबारे पनि जानकारी पाइँदैन।

स्थानीय तह र प्रशासनबीच समन्वय नभएकाले भारत र अन्य मुलुकबाट घर फर्किएकाहरुको बसाइ, संख्या र स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मी र प्रशासन कार्यालय बेखबर भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले स्थानीय तहले क्‍वारेन्टाइनको यकिन अवस्था र बाहिरबाट आएकाहरुको संख्या नपठाएकाले जानकारी दिन मुस्किल भएको बताए। स्थानीय तहका अनुसार हाल रोल्पामा २ सय ६६ जनालाई विभिन्न क्‍वारेन्टाइनमा राखिएको छ। तर प्रशासन कार्यालय यस तथ्यांकमा विश्वस्त छैन।


जिल्लाको अवस्थाको समीक्षा गर्न र आवश्यक योजना बनाउन प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठक पटकपटक बस्दै आएको छ। तर स्थानीय तहले ठोस योजना बनाउन र तथ्यांक पठाइदिन नसक्दा प्रभावकारी कार्यान्वयन गर्न समस्या देखिएको प्रशासनले जनाएको छ।


बाहिरबाट आएकाको तथ्यांक छैन

राजधानीका इँटा उद्योगबाट घर फर्केकालाई विद्यालयहरुमा बनाइएका क्‍वारेन्टाइनमा राखिएको छ। माडी गाउँपालिकाको कोर्चाबाङ, रोल्पा नगरपालिकाको कोटगाउँ र त्रिवेणीको गैरीगाउँमा अधिकांशलाई राखिएको छ। त्यसबाहेक अन्य गाउँमा मुलुकभित्रैबाट घर फर्किएकालाई राखिएको छ। जनप्रतिनिधिहरुका अनुसार अधिकांशलाई होम क्‍वारेन्टाइनमा बसालिएको छ।


कोर्चाबाङस्थित सिद्ध कैलाश माविमा बनाइएको क्‍वारेन्टाइनमा स्थानीय ५ दर्जनलाई राखिएको छ। उनीहरु काभ्रेस्थित इँटा उद्योगबाट कोरोना संक्रमणको त्रासले घर फर्किएका हुन्। विद्यालयलाई नै क्‍वारेन्टाइन मानेर रोल्पा नगरले कोटगाउँमा करिब ३ दर्जनलाई राखेको छ। उनीहरुलाई स्थानीय तहले नै खाना खर्च बेहोरेका छन्। तीबाहेक थबाङ, लुंग्री, रुन्टीगढी, गंगादेव र परिवर्तन गाउँपालिकाले विभिन्न स्थानमा फाट्टफुट्ट व्यक्तिलाई क्‍वारेन्टाइनमा राखेका छन्।


प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सबै तहलाई क्‍वारेन्टाइन निर्माण गरेर बाहिरबाट आएकालाई अनिवार्य रुपमा बसाल्न निर्देशन दिइएको बताए।


भारतबाट लस्करै घर फर्किएकालाई क्‍वारेन्टाइनमा बसालिएको छैन। उनीहरुलाई जनप्रतिनिधिहरुले घरमै बस्न भनेका छन्। कोरोना संक्रमणको त्रास बढ्न थालेपछि भारतको केरलाबाट घर फर्किकालाई घरैमा बसालिइको छ। केरलाबाट घर आएका सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका ९८ जना घरमै छन्। स्थानीय तहले क्‍वारेन्टाइन नबनाएकाले उनीहरु घरैमा सकेको वडाध्यक्ष केशव कवरले बताए। उनीहरुमध्ये केहीलाई उच्च ज्वरो देखिएको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रकी डा प्रकृति भट्टराईले बताइन्। विरामीमध्ये दुई जनाको स्वाब परीक्षण समेत गरिएको छ। दुवैको नतिजामा कोरोना संक्रमण भने भेटिएन।


यस्तै भारतको उत्तराखण्डबाट घर फर्किएका गंगादेव गाउँपालिकाका करिब ४ सयलाई पनि घरैमा बसालिएको छ। उनीहरुमा अहिलेसम्म कुनै समस्या नदेखिएको गाउँपालिका अध्यक्ष बीरबहादुर खत्रीले बताए।


स्थानीय प्रशासनले क्‍वारेन्टाइनमा बसेकाको तथ्यांक प्राप्त भए उनीहरुका लागि आवश्यक योजना बनाउन सकिने सुझाएको छ। प्रदेश ५ का सांसद दीपेन्द्र पुनले कोरोना संक्रमणबाट जोगिन र त्रासबाट बच्न सबै तहमा एकीकृत योजना ल्याउन नसकिएको स्वीकार गरे। कतिपय स्थानीय तहका प्रमुखले सांसद र मन्त्रीले रोल्पाका लागि निश्चित मोडालिटी बनाउन कन्जुस्याइँ र ढिलाइ गरेको आरोप लगाएका छन्।


लकडाउनबीच पूर्वाधार योजनाको काम

स्थानीयको विरोधका बावजुद थबाङ गाउँपालिकाले पूर्वाधारका योजनाको काम पुनः सुरु गर्न अनुमति दिएको छ। भवन निर्माण, वडाहरुको सडक निर्माण लगायतका योजनामा जनप्रतिनिधिको निगरानीमा काम गर्न दिइएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीमगरले बताए।


‘अत्यावश्यकीय काम गर्न छुट दिइए जस्तो लागेर हामीले पनि पूर्वाधारका योजनामा काम गर्न स्वीकृति दिएका हौं,’ अध्यक्ष घर्तीमगरले भने, ‘वडाको सिफारिसमा पूर्वाधारका योजनामा काम गर्न अनुमति दिएका हौं।’


सहायक प्रमुख जिल्ला अधिकारी केसीले लकडाउन जारी भएको अवस्थामा पूर्वाधारका योजनामा काम थाल्नु उचित नभएको बताए।



प्रकाशित : चैत्र २७, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?