कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऊर्जामन्त्री पुनद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

पुनले पठाए पीपीई सेट ४० थान, मास्क ४ हजार थान र इन्फ्रारेड थर्मोमिटर १० थान
काशीराम डाँगी

(रोल्पा) — ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले निजी खर्चमा रोल्पाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । ती सामग्री मन्त्री पुनले प्रमुख जिल्ला अधिकारीमार्फत शुक्रबार जिल्लामा पठाएका हुन् ।

ऊर्जामन्त्री पुनद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

ती सामग्री कोभिड–१९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जाँचमा स्वास्थ्यकर्मीले प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।


मन्त्री पुनले पीपीई सेट ४० थान, मास्क ४ हजार थान र इन्फ्रारेड थर्मोमिटर १० थान आफ्नै खर्चमा पठाइदिएका हुन् । ती सामग्री मन्त्री पुनका सहयोगी सन्तोष पुनले राजधानीबाट ल्याएर बुझाएका थिए । सामग्री बुझेपछि प्रमुख जिल्ला अधिकारी ढकालले आवश्यकताको आधारमा सामग्री जिल्ला स्वास्थ्य र अस्पतालसहित सबै तहमा पठाउन समन्वय गर्ने बताए ।


जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीले मन्त्रीले पठाइदिएका सामग्री पाएपछि सबै स्वास्थ्यकर्मी खुसी भएको बताए । यसअघि ज्वरो नाप्नसमेत थर्मोमिटर अभाव भएको बताउँदै केसीले सबै तहमा रहेका स्वास्थ्य इकाईमा ती सामग्री पठाउन पहल गर्ने समेत बताए ।


रोल्पा अस्पतालकी प्रमुख डा धनमाया घर्तीमगरले अतिआवश्यक ठानिएका ती स्वास्थ्य सामग्री पाएकाले सबै स्वास्थ्यकर्मीले हौसला बढाएर काम गर्ने बताइन् । लकडाउनको अवधिमै अस्पताललाई यसअघि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार तथा रोल्पा नगरपालिकाले केही सामग्री प्रदान गरेको थियो । नगर प्रमुख पूर्ण केसीले मन्त्री पुनले पठाइदिएका सामग्रीले सहयोग पुग्ने बताए ।


ऊर्जामन्त्री वर्षमान पुनले निजी खर्चमा रोल्पाका १० स्थानीय तहलाई पठाइदिएका स्वास्थ्य सामग्री । पुनले पठाएका सामग्री शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको हो । तस्बिर : काशीराम डाँगी/कान्तिपुर

प्रकाशित : चैत्र २१, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?