कोरोना रोक्न गाउँ छिर्ने नाका बन्द

चैत्र २१, २०७६

ठाकुरसिंह थारू

बर्दिया — कोरोना भाइरस रोग (कोभिड–१९) भित्रिन नदिन यहाँका स्थानीयले गाउँ प्रवेश गर्ने नाका बन्द गर्न थालेका छन् । बाहिरबाट आउजाउ गर्नेबाट संक्रमण फैलिने खतरा रहेको भन्दै शुक्रबारदेखि बढैयाताल गाउँपालिकाका बढैया, जगतिया, खैंसा, फूलबारी, पासीटोल, हल्लनचोक, नयाँबस्तीका नाका बन्द गरिएका छन् । 

नाकाबाट कसैलाई पस्न नदिन युवा परिचालन गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मीबाहेकलाई बाहिरबाट आउजाउ गर्न रोक लगाइएको हो । बढैयाताल–५, का वडाध्यक्ष रामसिंह थारूको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले नाका बन्द गर्न सहमति जुटाएको हो । गाउँका किराना पसल अपराह्न ४ देखि साँझ ६ बजेसम्म मात्रै खोल्न दिइएको छ ।  


त्यस्तै बाँसगढी नगरपालिकामा लक्ष्मणपुर, चितवन, दमौली लगायत गाउँ प्रवेश गर्ने नाका बन्द गरिएका छन् । भारतसँग सीमा जोडिएको बर्दिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । स्थानीय प्रशासनले लकडाउन पूर्ण रूपमा पालना गर्न आग्रह गरिरहेको छ । भारतीय सीमामा पनि स्वयंसेवक परिचालन गरिएका छन् ।

बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र राजापुर नगरपालिकाअन्तर्गत साढे ८३ किलोमिटर सीमा भारतसँग जोडिएको छ । स्थानीय प्रशासनले भारतबाट आउन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ । 

ठाकुरसिंह

Link copied successfully