२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोना रोक्न गाउँ छिर्ने नाका बन्द

ठाकुरसिंह थारू

बर्दिया — कोरोना भाइरस रोग (कोभिड–१९) भित्रिन नदिन यहाँका स्थानीयले गाउँ प्रवेश गर्ने नाका बन्द गर्न थालेका छन् । बाहिरबाट आउजाउ गर्नेबाट संक्रमण फैलिने खतरा रहेको भन्दै शुक्रबारदेखि बढैयाताल गाउँपालिकाका बढैया, जगतिया, खैंसा, फूलबारी, पासीटोल, हल्लनचोक, नयाँबस्तीका नाका बन्द गरिएका छन् । 

कोरोना रोक्न गाउँ छिर्ने नाका बन्द

नाकाबाट कसैलाई पस्न नदिन युवा परिचालन गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मीबाहेकलाई बाहिरबाट आउजाउ गर्न रोक लगाइएको हो । बढैयाताल–५, का वडाध्यक्ष रामसिंह थारूको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले नाका बन्द गर्न सहमति जुटाएको हो । गाउँका किराना पसल अपराह्न ४ देखि साँझ ६ बजेसम्म मात्रै खोल्न दिइएको छ ।


त्यस्तै बाँसगढी नगरपालिकामा लक्ष्मणपुर, चितवन, दमौली लगायत गाउँ प्रवेश गर्ने नाका बन्द गरिएका छन् । भारतसँग सीमा जोडिएको बर्दिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । स्थानीय प्रशासनले लकडाउन पूर्ण रूपमा पालना गर्न आग्रह गरिरहेको छ । भारतीय सीमामा पनि स्वयंसेवक परिचालन गरिएका छन् ।

बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र राजापुर नगरपालिकाअन्तर्गत साढे ८३ किलोमिटर सीमा भारतसँग जोडिएको छ । स्थानीय प्रशासनले भारतबाट आउन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?