प्रदेश प्रयोगशालाका लागि पीसीआर मेसिन पुग्यो

सन्जु पौडेल

रुपन्देही — प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवास्थित गहुँ बाली अनुसन्धान केन्द्रमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा जडानका लागि पोर्टेवल पीसीआर (पोलिमरेज चेन रिएक्सन) मेसिन बुधबार बुटवल आइपुगेको छ । 

प्रदेश सरकारले गत चैत १० गते प्रयोगशाला निर्माणको निर्णय गरेर काम अगाडि बढाएको थियो । प्रदेश सरकारको निर्णय अनुसार पीसीआर मेसिन सहित नमुना परीक्षणकालागि आवश्यक अन्य उपकरण आइपुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘प्रयोगशाला स्थापना भएपछि कोभिड–१९ संक्रमण आशंका गरिएका बिरामीको स्वाब परिक्षण रिपोर्ट तत्काल आउने छ,’उनले भने, ‘संक्रमण आशंका गरिएका व्यक्तिले धेरै कुर्नुपर्ने छैन ।’


प्रयोगशाला नहुँदा अहिले स्वाब संकलन गरेर काठमाडौं पठाउने गरिएको छ । नमुना पठाउन मंहगो हुने भन्दै धेरै जनाको संकलन गरेर एकमुष्ठ पठाउने गरिएको छ । संघीय सरकारले पठाएको पोर्टेवल पीसीआर मेसिन जडान गरेर सञ्चालनका लागि तिब्र गतिमा काम भइरहेको उनले बताए ।


गिरीका अनुसार मेसिन जडान भएपछि प्रत्येक दिन १५ देखि १६ वटा स्वाब परीक्षण गरेर रिर्पोट तयार गरिनेछ । मेसिन सहित छोटो समयकालागि आवश्यक किट तथा रसायन पनि आएको उनले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

बेलहिया सीमामा बिजोग भएकी सुत्केरीको उद्धार 

भनिन्, ‘नेपाल आएपछि बचिएजस्तो भएको छ'
अमृता अनमोल

काठमाडौँ — लकडाउनका कारण नेपाल–भारत सीमा नाका बेलहियामा अलपत्र परेकी सुत्केरीको उद्धार भएको छ । दिल्लीको गाजियाबादबाट दुई दिन पैदल हिँडेर आएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरकी ११ दिनकी सुत्केरी लक्ष्मी दर्जीको उद्धार गरिएको हो ।

बुधबार तिलोत्तमा नगरपालिका र रुपन्देही जिल्ला प्रशासनले उनको उद्धार गरेका हुन् ।

८ दिनअघि दिल्लीबाट हिँडेकी लक्ष्मी आफ्ना छोरी र श्रीमानसहित २ दिन पैदल र एक दिन बसमा यात्रा गर्दै शनिबार राति सुनौली आइपुगेकी थिइन् । १५ किलोमिटरको दूरीमा घर भए पनि नेपाल पस्न नदिएपछि उनी ५ दिनदेखि सीमा क्षेत्रमा थिइन् । उनलाई नेपाल ल्याउनु साटो मंगलबार ५ किलोमिटर पर नौतनहवास्थित क्वारेन्टाइनमा पठाइएको थियो ।

मंगलबार सुत्केरीको बिजोगबारे इकान्तिपुरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन र स्थानीय तहलाई उनको उद्धारमा दबाब परेको थियो । दबाबपछि रुपन्देही प्रशासनले भारतको गोरखा सैनिक नौतनहवालाई चिठी लेखेर सुत्केरी महिला र नाबालक शिशुको स्वास्थ्य जोखीममा पर्ने भन्दै पठाइदिन अनुरोध गरेको थियो ।

नौतनहवा प्रशासनले आफैं जोखिम मोलेर लैजान सक्ने बताएपछि तिलोत्तमा नगरपालिकाले एम्बुलेन्स पठाएको थियो । सुत्केरी लिन प्रमुख जिल्ला अधिकारी महादेव पन्थ तथा तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेसहितको टोली सीमा क्षेत्रमा पुगेको थियो । ‘समाचार आएपछि सुत्केरीको संवेदनालाई धेरैले कुरा उठाउनुभयो । त्यही कुरा भारतीय पक्षलाई बताएर ल्यायौं,’ प्रमुख जिल्ला अधिकारी पन्थले भने ।

सुत्केरी लक्ष्मीसहित उनका पति मनोज, ३ सन्तान र अर्घाखाँचीका मीनप्रसाद खनाल आज साँझ ५ बजेतिर बेलहियाबाट नेपाल प्रवेश गरेका थिए । मीनप्रसाद मेरुदण्डका बिरामी हुन् ।
उनीहरुलाई तिलोत्तमा नगरपालिकाको शंकरनगर दुर्गादत्त मावीमा रहेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको खानपानको व्यवस्था नगरपालिकाले गर्नेछ । ‘सुत्केरीका लागि पोषिलो खाना लुगा सबैको व्यवस्था हुन्छ,’ नगरप्रमुख घिमिरेले भने ।

निकै तनाव र थकानपछि नेपाल प्रवेश गरेकी लक्ष्मी पनि उत्साहित थिइन् । ५ दिनसम्म सीमामा रोकिँदा हराएको आश फेरि पलाएको उनले बताइन् । ‘बल्ल बचिएला भन्ने भयो,’ लक्ष्मीले सुनाइन्, ‘सुत्केरी ज्यान, भोक र थकानले प्राण नै जाला जस्तो भएको थियो ।’

हिन्दु परम्पराअनुसार बुधबार शिशुको न्वारान गर्ने र सुत्केरी चोखिनु पर्ने हो । लक्ष्मीले यसो गर्न पाइनन् । बिहान क्वारेन्टाइनमा पुगेपछि बल्ला लुगा फेर्न पाइन् । ‘अब आफ्नै नगरमा गएर नुहाउने, चोखिने र छोरीको नाम राख्नु पर्ला,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १९, २०७६ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×