कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितलाई उपचार गर्न मेडिकल सामग्री अभाव

काशीराम डाँगी

(रोल्पा) — कोरोना भाइरस संक्रमणबाट जोगिन र बिरामीलाई उपचार गर्न रोल्पा अस्पतालका चिकित्सकलाई आवश्यक पर्ने मेडिकल सामग्री अभाव भएको छ ।

आवश्यक सामग्री जुटाइदिन चिकित्सकले प्रमुख जिल्ला अधिकारी र रोल्पा नगरपालिकासँग आग्रह गरिएको जनाएका छन् । अस्पताल प्रमुख डा धनमाया घर्तीमगरले केही संख्यामा मास्कबाहेक अतिआवश्यक सामग्री मौज्दात नभएको बताइन् । त्यसबारे अस्पताल व्यवस्थापन समिति लगायत नगर प्रमुखलाई जानकारी गराइसकिएको उनले बताइन् । संभावित बिरामीलाई अस्पतालमा ल्याएर उपचार गर्नुपरेमा चिकित्सकलाई संक्रमणबाट जोगाउन अत्यावश्यक सामग्री नभएकोमा चिन्ता भएको उनले बताइन् ।


अस्पतालले चिकित्सकसहित स्वास्थ्यकर्मीका लागि क्याप, गाउन, चस्मा, मास्क, ग्लोव, स्यानीटाइजर लगायत सामग्री खाँचो भएको जनाएको छ । रेउघास्थित जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अनिल केसीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा भएको जिल्ला प्रकोप व्यवस्थापन र सर्वपक्षीय बैठकमा आवश्यक सामानबारे लेखेर जानकारी गराएको बताए । कोरोना संक्रमण भई आउन सक्ने बिरामीको उपचार गर्दा चिकित्सकले पहिले आफ्नो सुरक्षा भएमात्रै उपचार सम्भव हुने बताए ।


अस्पतालले स्वास्थ्यकर्मीका लागि अवश्यक पर्ने व्यक्तिगत प्रोटेक्टिभ इक्यूभमेन्ट (पीपीई) उपलब्ध गराइदिन नगर प्रमुख पूर्ण केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसँग आग्रह गरेको हो । जसमध्ये व्यक्तिगत प्रोटेक्टिभ इक्यूभमेन्ट (पीपीई) १ हजार थान, सर्जिकल मास्क १० हजार थान, एनजिजे मास्क ५ सय थान, सर्जिकल ग्लोव १० हजार थान, हेण्ड स्यानीटाइजर १ हजार थान, स्प्रिट एक हजार थान, इन्फ्रारेड थर्मोमिटर १० थान, अक्सिजन कन्सन्ट्रेटर र नेवोलाईजर २०/२० थान, संक्रमित स्याम्पल संकलन औजारलगायत सामग्री माग गरिएको हो ।


अस्पताल व्यवस्थापन समिति अध्यक्ष फविन्द्र आचार्यले प्रदेश सरकारलाई आवश्यक सामग्री उपलब्ध गराइदिन माग गरिएको बताए । प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा हुन सक्ने संभावित संक्रमण रोक्न र उपचारको व्यवस्था गर्न सबै जनशक्तिलाई परिचालन गर्ने निर्णय गरिएको बताए ।


छैन क्‍वारेन्टाइन

कोरोना संक्रमण बढ्ने देखिएपछि सरकारले मंगलबारदेखि लकडाउन गर्‍यो । त्यसअघि भारत लगायत विभिन्‍न देशमा रोजगारीमा पुगेकाहरु घर फर्किसकेका थिए । चिकित्सकले नव आगन्तुकलाई क्‍वारेन्टाइनमा राख्न नसकिएकाले घरमै बस्न भन्नुको विकल्प नभएको बताए ।


प्रहरीका अनुसार भारत, खाडी मुलुक र मुलुकभित्रैका विभिन्न सहरबाट करिब एक हजारको संख्यामा फिर्ता भएका हुन् । उनीहरु रोल्पा प्रवेश गर्ने मुख्य नाकाहरु होलेरी, खुंग्री, निगालपानी, जिनाबाङ लगायतबाट भित्रिए । अधिकांश मानिस बिनाजाँच गाउँ पसेका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।


अस्पतालबाहिर आइसोलेसन कक्ष

संक्रमित भएर उपचारमा आएका बिरामीलाई राख्न रोल्पा अस्पतालमा ४ वटा कोठा छुटाइएको छ । जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीले हाल ४ वटा आइसोलेसन कक्ष तयार पारिएको बताए ।


यस्तै अस्पताल बाहिर टेन्ट राखेर आइसोलेसन कक्षा समेत तयार पारिएको छ । बिरामी आएमा उपचार गर्न स्थान अभाव हुने देखिएपछि थप कक्ष तयार पार्न सोमबार बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको थियो ।


सरकारले मंगलबारदेखि लकडाउन गरेपछि रोल्पा सदरमुकाम सुनसान छ । गाउँमा भने चहलपहल रहेको प्रहरीले जनाएको छ । लकडाउन घोषणा गर्नुअघि नै रोल्पा उद्योग वाणिज्य संघले बजार बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : चैत्र ११, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?