१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घोराहीमा घोडाको प्रतिमा

दुर्गालाल केसी

दाङ — घोराहीमा घोडाको प्रतिमा राखिएको छ । घोराहीको पहिचान दिन घोडा राखिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । यस क्षेत्रमा घोडैघोडा हुने भएकाले बोलीचालीमा घोडालाई घोरा भन्दै घोराही नाम रहन गएको कथन छ । त्यसकारण घोराहीको परिचयस्वरुप घोराही बजारको मुख्य प्रवेशद्वार गुम्राह चोकमा दुई वटा घोडा राखिएको छ ।

घोराहीमा घोडाको प्रतिमा

शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिमाको अनावरण गरे । पहिले राप्तीका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट पैदल हिँडेर मानिसहरु बजार गर्न घोराही आउँथे । घोराहीमा घोडामार्फत नेपाल भारत–सीमा क्षेत्रको कोइलाबास बजार पुगेर सामान ल्याइन्थ्यो । दाङमा मानिस र सामान बोक्ने मुख्य माध्यम घोडा नै थियो । सबैतिर घोडा नै घोडा भएका कारण घोडैघोडालाई बोलीचालीको भाषामा घोरैघोरा भन्दै अन्तमा घोराही भन्न थालिएको विश्वास गरिन्छ ।


बिस्तारै सडक र यातायातको विस्तारसँगै घोडाहरुको प्रयोग कम हुँदै आएको थियो । अहिले पनि थारु किसानहरु घोडाको प्रयोग गर्छन् । धान बोक्न, चामल बेच्न र बजारमा किनमेल गर्न घोडाको प्रयोग गरिन्छ । सबै गाउँमा सडक विस्तार भई यातायातको पहुँच बढेपछि घोडाको प्रयोग घट्दै गएको छ । घोडाको इतिहास मेटिने चिन्ताले घोडाको प्रतिमा राखिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । घोराही चोकमा पनि घोडाको प्रतिमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।


जिल्ला सदरमुकाम रहेको घोराहीमा २०३५ माघ १५ मा त्रिभुवननगर नगरपञ्चायत स्थापना भएको थियो । गणतन्त्र स्थापनापछि २०६५ कार्तिक २० गतेको नेपाल सरकारको निर्णय अनुसार त्रिभुवननगरको नाम परिवर्तन गरी घोराही नगरपालिका बनाइएको थियो । संघीय संरचना अनुसार २०७३ वैशाख २२ गतेको नेपाल सरकारको निर्णय अनुसार घोराही उपमहानगरपालिका बनेको हो ।


अहिले घोराही उपमहानगरमा १९ वडा छन् । साविकका त्रिपुर नगरपालिका, सौंडियार, धर्ना, रामपुर, लक्ष्मीपुर र सैघा गाविस गाभेर उपमहानगरपालिका बनाइएको हो । २०७५ सालको घरधुरी सर्वेक्षणअनुसार नगरमा ३५ हजार ६ सय ४७ घरधुरी र १ लाख ५२ हजार ७ सय ६६ जनसंख्या छ । घोराहीमा सबैभन्दा बढी क्षत्री (२६.१४%) र त्यसपछि थारु (२४.३८%)को बसोबास रहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?