१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बुटवलमा जीवराज आश्रित संग्रहालय

सन्जु पौडेल

रूपन्देही — सिंढी उक्लेर दोस्रो तला पुग्नासाथ ढोकाबाट ठूलो तस्बिर देखिन्छ । तस्बिरमा जीवराज आश्रित मुस्कुराइरहेका छन् । कोठाभित्र पसेपछि देब्रेपट्टि स्वर्गीय आश्रितले लगाएका लुगा, पढेका पुस्तक, अन्तिम समय उनको गोजीबाट फेला परेको १ हजार ३ सय रुपैयाँ राखिएको छ ।

त्यससँगै उनको घडी र उनले सुन्ने रेडियो राखिएको छ । यी दृश्य बुटवलमा सञ्चालनमा ल्याइएको जीवराज आश्रित संग्रहालयभित्रका हुन् ।


०५० जेठ ३ मा चितवनको दासढुंगामा जिप दुर्घटनामा परी निधन भएका आश्रितको योगदानको कदर गर्दै ०६३ मा बुटवल उपमहानगरपालिका–७, दीपनगरमा जीवराज आश्रित प्रतिष्ठान स्थापना गरिएको थियो । ओझेलमा परेका आश्रितको विचार र देनलाई स्मरणयोग्य बनाउन अहिले संग्रहालय सञ्चालनमा ल्याएको पूर्वसांसद एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।


‘आश्रितले जीवनकालमा प्रयोग गरेका सामग्रीको संग्रहले उनको योगदानको स्मरण ताजा राख्नेछ,’ उनले भने, ‘आश्रितलाई नचिनेका व्यक्तिले संग्रहालयमार्फत चिन्नेछन् ।’ आश्रितलाई चिनाउन र बुझाउनै संग्रहालय खोलिएको उनले बताए । विद्यार्थीकालका साथी र राजनीतिक सहकर्मी आश्रितको जीवनशैली सरल र सामाजिक रहेको स्मरण गर्दै उनले देश र जनताकै लागि केही गर्ने उद्देश्य आश्रितको रहेको बताए ।


संग्रहालयमा आश्रितले भूमिगत हुँदा लेखेका महत्त्वपूर्ण दस्ताबेज र पत्र, उनका तस्बिर, उनी बस्ने कुर्सी र अध्ययनका लागि प्रयोग गर्ने टेबल, उनको झोला, श्रव्यदृश्यमा उनको जीवनी हेर्न पाइने व्यवस्था गरिएको छ । संग्रहालयमा आश्रितसँग सम्बन्धित सामग्रीसँगै मानव विकासक्रम, पर्यटकीय स्थल, नेपाली समाजका विविध जातजातिका वेशभूषा, कला संस्कृति र परम्परासँग सम्बन्धित सामग्री, पर्यटकीय स्थलसमेत सजाएर राखिएको छ ।


संग्रहालयमा रहेको १० ब्यान्डको रेडियो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आश्रितलाई भूमिगतकालमा उपहार दिएका थिए । यस्तै संग्रहालयमा नेपालका ग्रामीण भेगमा प्रयोग हुने ढिकी, हलो, जुवा, टुकीलगायत दर्जनौं सामग्री सजाइएको प्रतिष्ठानकी महासचिव कल्पना थापाले बताइन् ।


संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले बताए । एकपटकमा ५० जनाले अवलोकन गर्न मिल्ने संग्रहालयमा अपांग, विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि २५ रुपैयाँ र सर्वसाधारणका लागि ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?