लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई जाडोयाममा न्यानो कपडा (सिरक) उपलब्ध गराएको छ । वडा कार्यालयबाट संकलित विवरणअनुसार गाउँपालिकाले वडा कार्यालय, गाउँटोलमा ज्येष्ठ नागरिकलाई बोलाएर न्यानो सिरक उपलब्ध गराएको हो ।
वडा कार्यालयले तोकेको स्थानमा आउन नसकेका ज्येष्ठ नागरिकको घरमै पुगेर सिरक प्रदान गरिएको मस्याङ्दी गाउँपालिका १ का वडाध्यक्ष रुद्रमान गुरुङले बताए । गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले वडा नं. १ का १५ जना, २ का २५ जना, ३ का ४७ जना, ४ का २२ जना, ५ का ३४ जना र ९ का ३३ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको बताइन् । उनका अनुसार शुक्रबारमात्रै वडा नं. ६ का ४० जना र वडा नं. ७ का १८ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ ।
गाउँपालिकाभरिका ८४ वर्ष उमेर माथिका कूल २ सय ६० जना ज्येष्ठ नागरिकमध्ये वडा नं. ८ का ज्येष्ठ नागरिकलाई आइतबार न्यानो सिरक वितरण गरिने उनले बताइन् । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट न्यानो सिरक वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले बताए ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पालिकाले ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपांगता नागरिकलाई लाभ हुने खालका कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।
