तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने भएको छ । पहिरो नियन्त्रणको काम हुँदै गरेकोले आज (आइतबार) बिहान १० बजेदेखि १ बजेसम्म उक्त सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
विसं २०७९ जेठ २७ गते वर्षाका कारण भासिएको आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिकको सडक मर्मत भइरहेका छ । उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गा झार्नुपर्ने भएकाले उक्त काम गर्दाको समयमा सवारीसाधन पूर्ण अवरुद्ध हुने कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताएका छन् ।
निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
