पूर्वी नवलपरासीमा माघ २६-२८ मा चरा उत्सव हुुने 

माघ १९, २०८०

नारायण शर्मा

पूर्वी नवलपरासी — चरा संरक्षण र पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले माघ २६ देखि २८ गते सम्म पूर्वी नवलपरासीमा चरा उत्सव हुने भएको छ ।नेपालमा आउने मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई जागरुक बनाउन  उत्सव गर्न लागिएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार चरा उत्सवमा नेपालका चराविज्ञ, चरा संरक्षणमा काम गर्ने संरक्षणकर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरुले छलफलमा भाग लिने छन् ।

चरा उत्सवमा पंछी पहिचान तालिम,ट्रेल प्याकेज,फोटो प्रर्दशनी,पंछी कला प्रतियोगिता, कार्यपत्र  प्रस्तुति,चरा संरक्षणमा देखिएका चुनौती र उपाय लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिनेछ । यसले चरा संरक्षणमा दिर्घकालीन योजना बनाउन र कार्यान्वयन गर्न सघाउने विश्वास छ ।

पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा ४ सय ८८ प्रजातिका चरा पाइन्छन् ।  यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर अत्यधिक पाइन्छ  । यसलाई प्रवर्धन गर्नसके जिल्लाको चरा पर्यटनको विकास हुने जटायु रेष्टुरेण्टका व्यवस्थापक एवं संरक्षणकर्मी डिबी चौधरी बताउछन् 

चरा हेर्न आउने पर्यटक खर्चालु हुने, धेरै समय बिताउने र धेरै जनालाई रोजगारी दिने भएकोले यस्ता पर्यटक भित्राउन सके पर्यटन विकासमा महत्वपूर्ण काम हुने चौधरीको भनाई छ ।

एक जना चरा हेर्न आउने पर्यटक एक हप्ता देखि एक महिना भन्दा बढी बस्ने गर्दछन् । एक जना चरा हेर्न आउने पर्यटकले चरा गाईड, सहयोगी समेत गरि ३ जनालाई रोजगार दिने चौधरीको अनुभव छ । दुई वर्षअघि पोखरामा चरा उत्सव गरिएको थियो । चरा उत्सवमा नेपाल बाहिरका १९ देशका विज्ञहरु सहभागी हुनेछन् ।   

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully