१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित

कास्की — गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ ।

गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित

यस्तै, उनको विपक्षमा २६ मत प्राप्त भएको सभामुख कृष्ण धितालले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी थिए ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा थापालाई सांसद गोविन्दबहादुर नेपालीले उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने, माओवादी निकट सांसद सुशीला सिम्खडाले समर्थन गरेकी थिइन् ।

संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ९ अनुसार थापा उपसभामुख पदमा निर्वाचित भएकी हुन् । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए । यस्तै, लमजुङबाट समानुपातिकतर्फ निर्वाचित कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनलाई नन्दप्रसाद न्यौपानेले प्रस्ताव गरेका थिए भने दोणकुमार कुँवरले समर्थन गरेका थिए ।

संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ ।

गण्डकी प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही दिनले सोमबार १५ दिन पुग्छ । (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

यस्तै, गण्डकीको सभामुखमा एमालेका कृष्ण धिताल पुस ३० मा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो ।

४९ वर्षीया थापा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् । बाग्लुङको बडीगाड गाउँपालिका–१ की थापा २०४३ सालदेखि विद्यार्थी राजनीतिमा होमिएकी थिइन् । २०५३ मा एमाले पार्टीको सदस्यता लिएकी थापा २०६४ मा एमाले बाग्लुङ जिल्ला सदस्य भइन् । हालै पनि उनी अखिल नेपाल महिला संघ बाग्लुङको सचिव हुन् । यस्तै, पार्टीको जिल्ला सचिवालय सदस्यसमेत हुन् । थापा रेडक्रस लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थिइन् ।

प्रकाशित : माघ २, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?