कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गण्डकी सभामुखमा माओवादीका कृष्ण धिताल

कास्की — गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । सत्ता गठबन्धनअनुसार गण्डकीमा मुख्यमन्त्रीमा एमाले र सभामुखमा माओवादीलाई भागबन्डा गरिएको थियो । प्रदेशसभाको शनिबारको बैठकमा धिताल ३२ मत पाएर निर्वाचित भएका हुन् । विपक्षमा २६ मत खसेको थियो । 

गण्डकी सभामुखमा माओवादीका कृष्ण धिताल

प्रदेशसभा बैठकमा ५८ सांसद सहभागी थिए । धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुख पदको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए ।

संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् । धिताललाई एमालेको २१, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद राजीव गुरुङले पक्षमा मत दिएका थिए ।

यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले सभामुखमा उम्मेदवारी दिएकी थिइन् । स्याङ्जाको वालिङ नगरपालिका–८ की तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव गरेका थिए भने टकराज गुरुङले समर्थन गरेका थिए । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही मितिअनुसार माघ २ गते १५ दिन पुग्छ ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।

गोरखाको भीमसेन गाउँपालिका–२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । धिताल संविधानसभा सदस्य पनि हुन् । २०७० मा समानुपातिक प्रणालीबाट उनी सांसद निर्वाचित भएका थिए । चार दिदीबहिनी र चार दाजुभाइमध्ये उनी जेठा हुन् । धितालका श्रीमती, दुई छोरी र एक छोरामध्ये जेठ छोरी सहिद भएकी छन् ।

२०५७ पुस ११ मा गोरखामा १७ वर्षीय छोरी गुमाएका धिताल २०५२ बाट नै होलटाइमर भएर नेकपा माओवादीमा लागेका थिए । उनको परिवारै माओवादी युद्धमा होमिएको थियो । युद्धअघि उनी जिल्ला भेटेनरीमा जागिरे थिए ।

धिताल २०६४ देखि माओवादी केन्द्रको गोरखा इन्जार्च हुन् । कास्की, लमजुङमा पनि इन्चार्ज भइसकेका धिताल पार्टीको केन्द्रीय सदस्यसमेत रहेका छन् । सभामुखमा निर्वाचित भएपछि धितालले समृद्ध प्रदेशका लागि विस्तृत योजना बनाएर अघि बढ्ने बताए । ‘सभामुख निर्वाचत भए पनि धेरै बुझ्न पाएकै छैन,’ उनले भने, ‘क्रमशः बुझ्दै सिक्दै समृद्ध प्रदेश निर्माणमा भूमिका खेल्नेछु ।’ नवनिर्वाचित सभामुखलाई शनिबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवासमा पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।


प्रकाशित : पुस ३०, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?