कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नक्कली सुन धितो राखेर २४ लाख कर्जा 

कान्तिपुर संवाददाता

पोखरा — नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ । पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका दुई शाखाबाट विभिन्न मितिमा उक्त रकम कर्जा लिएको भेटिएको हो ।  

नक्कली सुन धितो राखेर २४ लाख कर्जा 

सुनारले पोखरा–१७ विरौटामा रहेको बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए । उनले लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएपछि बैंकले शंका लागेर धितो राखेको गरगहना जाँच गरेको थियो ।

गरगहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएको थियो । बैंकको उजुरीको आधारमा प्रहरीले सुनारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । उनका अनुसार प्रहरीले सुनारलाई आइतबार जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक विरौटा शाखाका प्रबन्धक सञ्जीव सुवेदीले धितो राखिएका गहना सामान्य आँखाले सक्कली र नक्कली छुटयाउन नसकिने किसिमको रहेको बताए । ‘धितो राख्ने बेला हेरेर, ढुंगाले घोटेर वा एसिड हालेर परीक्षण गर्ने हो,’ उनले भने, ‘त्यसबाहेक काटेर हेर्नुपर्छ । ग्राहकको गहना काटिहाल्न मिल्दैन । पछि पनि सक्कली नै हो भन्ने थियो । मेसिनमा लगेर परीक्षण गरेपछि मात्रै नक्कली भन्ने थाहा भयो ।’

प्रकाशित : कार्तिक २८, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?