तनहुँ — संरक्षण अभावमा ऐतिहासिक तनहुँसुर खण्डहर बन्दै गएको छ । सेवासुविधाको खोजीमा स्थानीय सहरकेन्द्रित हुँदा गाउँ मात्रै सुनसान बनेन, यहाँका पुरातात्त्विक संरचना पनि नष्ट हुँदै गएका हुन् ।
तनहुँसुरलाई बाइसे–चौबीसे राज्यको पालाको एक समृद्ध र शक्तिशाली राज्य मानिन्छ । समुद्री सतहबाट १२४५ मिटर उचाइमा अवस्थित तनहुँसुरमा वि.सं. १६१० सम्म पाल्पा राज्यअन्तर्गत पर्ने तनहुँ राज्य तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले आफ्ना छोराहरूलाई भागबन्डा गरेको समयदेखि वि.सं. १८३९ सम्म एक स्वशासित अखण्ड राज्यका रूपमा रहेको पाइन्छ । तनहुँसुरको टुप्पोमा ३ टाकुरा छन्, जसलाई त्रितुंग भनिन्छ । त्यही त्रितुंग नै अप्रभंश भई ‘तनुङ’ हुँदै तनहुँ हुन गएको ऐतिहासिक पृष्ठभूमि छ । जिल्लाको नामसँगै जोडिएको भए पनि हाल यो क्षेत्र उजाड देखिन्छ ।
नामेट हुने खतरामा पुगेका यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा अहिले सरोकारवाला जुर्मुराउन थालेका छन् । व्यास नगरपालिकाको अगुवाइमा २ वर्षदेखि सहभागितामूलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत तनहुँसुरलाई पुनर्जीवित गर्ने अभियान चलिरहेको हो । नगरपालिका, डिभिजन वन, पुरातत्त्व विभागलगायत निकाय तथा संघसंस्थाले तनहुँसुरमा पर्यापर्यटन, जैविक खेती, नवीकरणीय ऊर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याएका छन् । ऊर्जा तथा वातावरण नेपालले यूएनडीपी/एसजीपीको सहयोगमा तनहुँसुर क्षेत्रको वनजंगल तथा जैविक विविधताको संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सहभागिता बढाउनेलगायत कार्यक्रम अगाडि बढाएको छ । पछिल्ला २ वर्षमा मात्रै यहाँको पुरातात्त्विक सम्पदा संरक्षण र विकासका लागि करिब ११ करोड २७ लाख रुपैयाँ खर्च गरिएको छ ।
‘करिब १२३ घरधुरीलाई समेटेर सहभागितामूलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम सञ्चालन गरिएसँगै उजाडिँदै गएको तनहुँसुरमा चहलपहल बढ्न थालेको छ,’ ऊर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदीले भने, ‘ऐतिहासिक स्थलको संरक्षण तथा महत्त्वबारे अभिमुखीकरण, अर्गानिक तरकारी खेतीसम्बन्धी तालिम, इको ट्रेकको सम्भाव्यता अध्ययन, खानेपानी व्यवस्थापन, कृषि रपर्यटन ज्ञान, होमस्टे प्रवर्द्धन, वन डढेलो रोकथाम तथा नियन्त्रणलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।’
