लिगलिगकोटमा साइकल दौड (तस्बिरहरू)

चैत्र ४, २०७८

हरिराम उप्रेती

गोरखा — लिगलिगकोटको ऐतिहासिक र मौलिक संस्कृति जगेर्ना साथै वातावरण संरक्षणको सन्देश दिन पालुङटार नगरपालिकास्थित लिगलिगकोटमा साइकल दौड प्रतियोगिता भएको छ । दोस्रो संस्करणको प्रतियोगितामा ६४ जना साइकल यात्रीले भाग लिएका थिए । ६ विधामा सम्पन्न प्रतियोगिता अन्तर्गत खुल्लातर्फ निर्धारीत ५३ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४८ सेकेण्डमा पार गर्दै एपीएफका सुरज राना पहिलो बने ।

२ घण्टा २५ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गर्दै भारतीय सेनाका प्रकाश थापा मगर दोस्रो बने । प्रतियोगितामा एपीएफका लक्ष्मण मल्ल तेस्रो बनेका छन् । उनले २ घण्टा २५ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । प्रतियोगितामा सहभागी ६४ मध्ये ३६ जनाले खुल्लातर्फ भाग लिएका थिए । त्यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लबकी उषा खनाल पहिलो र मञ्जुकुमारी खड्का दोस्रो तथा सुनसरीकी इन्द्र कला नेम्वाङ तेस्रो बने ।

उनीहरुले क्रमश: २ घण्टा ५५ मिनेट ५८ सेकेण्ड, ३ घण्टा ११ मिनेट १७ सेकेण्ड र ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । महिलातर्फ ६ जना सहभागी बनेका थिए । ३० वर्ष उमेर समूहमाथिको प्रतिस्पर्धामा काठमाडौंका नयन मानान्धर पहिलो, अमेरिकन नागकी जुनथन दोस्रो र काठमाडौंका विकास माहर्जन तेस्रो बनेका छन् । गण्डकी प्रदेश र पालुङटार नगरपालिकाको तर्फबाट सहभागी बनेकाहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगितामा पहिलोदेखि दसौं हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानाले बताए । लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ–हर्मी भञ्ज्याङ–मुकुन डाँडा-आँपपिपल अस्पताल–वनटार–भण्डारथोक–चेपेपुल–गरमबेसी–चेपेघाट दोभान–हवाइग्राउण्ड–तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाँडा–बोहोरागाउँ–बिजुलीडाँडा–खोल्ल हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो ।

लिगलिगकोटलाई केन्द्र मानेर तय गरिएको रुट साइकल यात्राको लागि उपयुक्त रहेको प्रतियोगी एवं गोरखा नगरपालिका–१४ की उषा खनालले बताइन् । ‘पक्की सडक मात्र नभएर अफ रोड पनि छ, यो रुटमा साह्रै मज्जा छ,’ उनले भनिन्, ‘गाउँले परिवेश, नयाँ–नयाँ ठाउँ प्रकृतिक हिसाबले पनि यात्रामा थुप्रै नयाँ अनुभव पाइन्छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully