पहिरोले बिरामी बाटोमै अलपत्र

बर्सेनि सास्ती बेहोर्दा पनि छैन समाधानका उपाय
प्रकाश बराल

बागलुङ — बडिगाड गाउँपालिकाबाट धौलागिरि अस्पतालका लागि ल्याइएकी कोरोनाका बिरामी सदरमुकाम नजिकैको बोक्सेमा ३ घण्टासम्म अलपत्र परिन् ।

सडकमा खसेको पहिरोले अवरुद्ध भइरहने, तर खुलाउने प्रयास नहुने कारणले बिरामीले सास्ती खेप्नुपरेको हो । बल्लबल्ल ल्याएर अस्पतालमा भर्ना गरेको १२ घण्टा नपुग्दै बिरामीको मृत्यु भयो । ‘समयमा ल्याउन सकेको भए उनको ज्यान जोगिन सक्थ्यो,’ अस्पतालका मेसु डा. शैलेन्द्र पोखरेलले भने, ‘समय घर्केर आएका बिरामीको ज्यान गइरहेको छ ।’

मध्यपहाडी लोकमार्गअन्तर्गत सदरमुकामदेखि अक्षेतेसम्मको ७ किमि सडक खण्ड क्षतविक्षत छ । यहाँ सवारीसाधन फसेर घण्टौं जाम हुन्छ । त्यसका लागि यात्री, सवारीसाधनका चालक र सहचालक मिलेर हिलो पन्छाउने र जसोतसो उम्कने प्रयास मात्रै हुने गरेको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले दशकदेखि वर्षात्को समस्या समाधानमा कुनै पहल नगरेको पश्चिम बागलुङका जनप्रतिनिधिले टिप्पणी गरे । ‘हरेक वर्ष हामीले यो सास्ती भोगिरहेका छौं, कहिले पनि समाधान नहुने भयो,’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने । चार घण्टासम्म सडक नखुलेको र पैदल यात्रा गरेर जाने ठाउँसमेत अभाव भएर सास्ती भोगेको उनले बताए ।

दोबिल्ला, अक्षेते, खहरे र बिहुँको इनारपानीसम्म सडक क्षतविक्षत र हिलाम्मे छ । दर्जनौं पहिरो पन्छाइएको छैन । ठेक्कामा लिएको सिद्दिसाई भारत संयुक्त निर्माण कम्पनीले केही स्थानमा मात्रै नाली बनाएको छ । केही स्थानमा गिट्टी थुपारेको छ । तर सबैभन्दा जोखिम र हिलाम्मे खण्डमा कामै नगरेपछि बर्सेनि स्थानीयले सास्ती खेप्दै आएका हुन् । ‘मैले २० वर्षदेखि यो सडकमा यत्तिकै सास्ती खेपिरहेको छु,’ गलकोट नगरपालिका–३ का फमबहादुर खत्रीले भने, ‘राज्यको लापरबाहीले ठेकेदारले पनि जनतामाथि ज्यादती गरिरहेका छन् ।’ पश्चिम बागलुङका अधिकांश जनताले ७ किमि सडकको कारण सास्ती खेपेका हुन ।

गत वर्षात्मा पनि गलकोटबाट प्रसूति व्यथाले च्यापेर आएकी एक महिला पहिरोमा फसेपछि स्वास्थ्यकर्मी पैदलै पहिरो गएको स्थानमा पुगेर एम्बुलेन्समा सुत्केरी बनाएका थिए । ‘रातिको समयमा कोही बिरामी भयो र यो बाटो ल्याउनुपरेमा मर्नुपर्ने अवस्था छ,’ बडिगाड गाउँपालिकाका सवारी चालक राजन पाइजाले भने, ‘सामान्य सडक जस्तो बनाइदिन कसले रोकेको होला ?’

प्रकाशित : असार १३, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

खडक नगरपालिकाका इन्जिनियर कुटिए

कान्तिपुर संवाददाता

राजविराज — गुणस्तरहीन र अपूरो कामको मूल्यांकन भनेअनुसार नगरेको भन्दै सप्तरीको खडक नगरपालिकाका सव–इन्जिनियर विश्वप्रताप झालाई कुटपिट गरिएको छ । वडा ८ को एक उपभोक्ता समितिका सदस्य अबुल हुसेनले आफूले भनेअनुसारको मूल्यांकन किन नगरेको भन्दै बिहीबार साँझ कोठामै आई कुटपिट गरेको र मोबाइल खोसेर लगेको इन्जिनियर झाले जानकारी दिए ।

खडक नगरपालिका–८ स्थित एक सडकमा माटो तथा ग्राभेल गर्नका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आरोपी हुसेन नगर प्रमुख हेमायु हकका काका हुन् । ‘लगत, स्टिमेटअनुसार काम गुणस्तरहीन छ र अपुरो छ,’ सव–इन्जिनयर झाले भने, ‘तर मेयरका काकाले पूरै बजेटअनुसारको मूल्यांकन गर्न दबाब दिए ।’ भएका कामअनुसार मात्र मूल्यांकन गर्ने भन्दै आफूले बताएपछि गालीगलौज गर्दै कोठामा आएर मोबाइल खोसी कुटपिट गरेको झाले बताए । उनले नगर प्रमुखको आफन्तबाटै कुटिन थालेपछि काम गर्न असुरक्षा भएको बताउँदै न्यायका लागि प्रशासन गुहार्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरजकुमार देवले कुटपिट भएको बारे सव–इन्जिनियर झाले जानकारी गराएको बताए । ‘हामी नगरसभामा थियौं, सव–इन्जिनियर झामाथि कुटपिट भयो,’ अधिकृत देवले भने, ‘यो अवस्थामा काम गर्न सहज भएन्, हामी कर्मचारी बैठक बसी आवश्यक निर्णय लिन्छौं ।’ आरोपी अबुल हुसेनले आफूले कुटपिट नगरेको दाबी गरे ।

मूल्यांकन गर्न पैसा मागेको भन्दै आफूले मोबाइल मात्र खोसेको उनले बताए । नगर प्रमुख हकले सव–इन्जिनियर झालाई कुटपिट भएको बारे आफूलाई जानकारी आएको र दुवै पक्षको कुरा बुझिरहेको बताए । कर्मचारीहरूले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत देवलाई पत्र बुझाउँदै हुसेनलाई कारबाहीको माग गरेका थिए । तीन दिनभित्र दोषीलाई कारबाही नगरिए चौथो दिनदेखि कार्यालयको कामकाज ठप्प गर्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित : असार १३, २०७८ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×