बूढीगण्डकी बस्ती पस्दा चार घर बगे- गण्डकी - कान्तिपुर समाचार

बूढीगण्डकी बस्ती पस्दा चार घर बगे

दरौँदीले कटान गरेपछि बारपाक सडक अवरुद्ध
हरिराम उप्रेती

गोरखा — बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । त्यहाँका थप ७ घर उच्च जोखिममा छन् । 

लगातारको वर्षापछि मंगलबार राति सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, लक्ष्मण गुरुङ र थर्पनी गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । बस्ती कटान हुन थालेपछि स्थानीय बासिन्दाले घर छाडेका छन् । सल्लेरीमा २७ घरधुरी छन् ।

सल्लेरीमै लार्के सडकको ट्रयाक खोल्ने सेनाको निर्माण कार्यदलको बेसक्याम्प पनि जोखिममा परेको डीएसपी दाहालले बताए । त्यस्तै दरौंदी नदीले कटान गरेपछि बारपाक जाने सडक अवरुद्ध बनेको छ । बारपाक सडक खण्डअन्तर्गत झरनानजिकैको सडक दरौदीले कटान गरेको हो । झन्डै २० मिटर खण्ड नदीले कटान गरेको प्रहरीले जनाएको छ । ‘अर्को नयाँ ट्रयाक नखोली आउजाउ गर्न मिल्ने अवस्था छैन,’ दाहालले भने ।


दरौँदी नदी र वल्छो खोलाले सडक पूरै कटान गरेको बारपाक–सुलिकोट गाउँपालिका–२ का वडाध्यक्ष लालबहादुर गुरुङले बताए । दरौँदी नदीमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको बिजुलीको पोल पनि बगेको छ ।


प्रकाशित : असार २, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षण गर्न मान्दैनन् स्थानीय

तृप्ति शाही

बैतडी — बैतडीका विभिन्न स्थानीय तहका अधिकांश बासिन्दा सहजै कोरोना परीक्षण चाहँदैनन् । स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूलाई बोलाएर सम्झाइबुझाइ गर्दासमेत कोरोना परीक्षण गर्न तयार हुँदैनन् ।

‘परीक्षण गर्नुपर्छ भन्ने भावना कसैमा पनि छैन । बोलाउँदा पनि त कोही आउँदैनन्,’ सिगास गाउँपालिकाका हेल्थ असिस्टेन्ट हेमन्तसिंह साउदले भन्छन्, ‘स्वास्थ्यकर्मीहरू घरमै पुग्दा पनि मान्दैनन् । केही भएकै छैन किन चेक गर्ने भनेर उल्टै प्रश्न गर्छन् ।’

कोरोना परीक्षणका लागि दिनहुँजसो दैनिक स्वाब संकलनका लागि गाउँमा पुग्दा स्थानीयले स्वाब दिनै नमान्ने गरेको पञ्चेश्वर गाउँपालिका–१ पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले गुनासो गरे । उनले भने, ‘कुनै दिन जनप्रतिनिधि, प्रहरीसँगै स्वास्थ्यकर्मीहरू गएर स्वाब संकलन गरेर ल्याउँछौं नभए हामी एक्लैले जति सम्झाइबुझाइ गरे पनि मान्दैनन् ।’

स्वास्थ्य संस्थामा पुगेका बिरामी पनि कोरोना जाँच गर्ने भनेपछि भाग्ने गरेको उनले सुनाए । गाउँमा स्थानीय कोरोना परीक्षण गर्नै नमान्ने शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । स्वास्थ्यकर्मी परीक्षणका लागि गाउँ पस्दा पनि स्थानीयले लखेट्न थाल्ने अवस्था रहेको उनको भनाइ थियो ।

प्रकाशित : असार २, २०७८ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×