बाढीपहिरोले म्याग्दीका कम्तीमा ४० परिवार विस्थापित- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले म्याग्दीका कम्तीमा ४० परिवार विस्थापित

बेनी बजारमै पस्यो बाढी 
घनश्याम खड्का

म्याग्दी — म्याग्दीका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट घरमा क्षति पुऱ्याएको/जोखिममा रहेका कम्तीमा ४० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षति विवरण संकलन भइरहेको जनाएको छ । 

बाढीले सदरमुकाम बेनीको अस्पताल चोकमा क्षति पुऱ्याएको छ । बाढीले ल्याएको गेग्रानले कालीपुल बसपार्क क्षेत्र पुरेको छ । त्यस्तै बाढी पसेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामग्री नजिकैका घरमा लगेर सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरियामा मंगलबार साँझ आएको पहिरोलेले ९ घरमा क्षति पुगेपछि सबै परिवारलाई सुरक्षित स्थानमा लगिएको छ । स्थानीय खेम पुनका अनुसार धस्केखोरियाको माथिल्लो भित्ताबाट पहिरो बस्तीमा झरेपछि खेम पुन, रेम पाइजा, कृष्ण फगामी, नौमती बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जित पुर्जा, टीका पुर्जा र ज्ञान पुर्जाको घर, गोठमा सामान्य क्षति पुगेको छ ।

त्यसैगरी बेनी नगरपालिका, ४ तातोपानीको मसारस्थित खहरेखोलामा आएको बाढी बस्तीमा पसेपछि १३ परिवारका ४१ जनालाई सुरक्षित स्थानमा लगिएको छ । बेनी नगरपालिका–९ गलेश्वरस्थित वृद्धाश्रममा माथिबाट पहिरो झर्ने जोखिम बढेपछि त्यहाँ रहेका कम्तीमा १२ जना वृद्धवृद्धालाई गलेश्वर मन्दिरको धर्मशालामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोबाट घरमा क्षति पुगेको/जोखिममा परेका अन्नपूर्ण गाउँपालिका–७ काफलडाँडामा चार घर, घारमा दुई घर, बेनी नगरपालिका–९ काउलेगौडामा तीन घर, मंगला गाउँपालिका–१ कुहुँमा तीन घर, मालिका गाउँपालिका–६ दरवाङ्गमा ७ घरपरिवारका २४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यसैगरी बेनी नगरपालिका, २ बगरफाँटमा पाँच घर, धवलागिरी गाउँपालिका–२ लम्सुङमा ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीपहिरोले विद्युत् आपूर्ति बन्द हुँदा केही स्थानीय तहमा सञ्चार सम्पर्क विच्छेदसमेत भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार २, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा बाढीपहिरो : पुल भत्कियो, सडक बग्यो

प्रकाश बराल

बागलुङ — बाढीपहिरोले बागलुङको विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । ग्रामीण सडक, राजमार्ग र पक्की पुलसमेत बगेपछि आउजाउ ठप्प भएको छ ।बागलुङ नगरपालिका–१ को काठेखोला पुलको स्पर बगेपछि जैमिनि नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवाक्षेत्र जाने सडकमा यातायात अवरुद्ध छ ।

उक्त सडकका दर्जनौं स्थामा पहिरो गएको छ । पुलछेउ पहिरो खस्दा खोला थुनिएको थियो । खोलाले बहाव परिवर्तन गरेपछि पुल बग्ने जोखिम बढेको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

बागलुङ नगरपालिकाले छनोट गरेर पूर्वाधार निर्माण थालनी गरेको औद्योगिक क्षेत्र कालीगण्डकीको कटानमा परेको छ । वडा नं. १३ को कालाखोलामा नदीले कटान गरेपछि करोडौंका सामग्री बगेका छन् । तत्काल नदीको बहाव रोक्न नसकिएकाले बस्ती नै बग्ने खतरा रहेको खड्काले जानकारी दिए ।

खोलाले छेवैको सडक पनि भत्काएको छ । ‘जुनसुकै बेला पुल बग्ने खतरा भयो, चाहेर पनि जोगाउन नसकिने गरी बाढी आएको छ,’ खड्काले भने, ‘निरन्तरको वर्षातले उद्धारमा पनि कठिनाइ भएको छ ।’ प्रहरीले खोलाछेउमा मानिसलाई नजान आग्रह गरेको छ । कतिपय स्थानमा प्रहरी खटाएर सुरक्षा दिइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

बाढीले यहाँको दोस्रो ठूलो बुर्तिवाङ बजार, बडीगाड गाउँपालिकाको भीमगिठे, ग्वालीचौर र खरवाङ बजार पनि जोखिममा परेका छन् । खोलाले धेरै भाग कटान गरेकोले जोखिम भएको स्थानीय कमल पौडेलले बताए ।

गलकोट नगरपालिकाको नरेठाँटी, हटिया र काँडेवास लगायत बजार क्षेत्र जोखिममा परेपछि मंगलबारदेखि नै कतिपय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । ‘बस्ती जोखिम भएकोले सुरक्षित स्थानमा बस्न भनेका छौं,’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘तत्काल उद्धारमा खटिनसमेत नसकिने अवस्था छ ।’ सोमबार रातिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ–पोखरा खण्डको सहस्रधारामा दर्जनौं सवारीसाधन अलपत्र परेका छन् ।

पहिरोले बडिगाड–७ मा आठ र काठेखोला गाउँपालिका–७ का ५ परिवार विस्थापित भएका छन् । उनीहरूको घरै भत्किएको छ ।

प्रकाशित : असार २, २०७८ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×