कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसान छन् गाउँघर

आश गुरुङ

लमजुङ — छिमेकमा जाने आउने, वल्लोघर पल्लोघर पालोपैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने, घाँसदाउरा, मेलापात गर्दै आएकी ५८ वर्षीया कमलकाशी गुरुङ अचेल प्रायः घरबाट बाहिर निस्किन्नन् । 

सुनसान छन् गाउँघर

उनीमात्रै होइन, मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका स्थानीय घरभित्रै छन् । अत्यावश्यक काम परेमात्रै निस्कन्छन् । बाहिरका पनि कोही आउँदैनन् । घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ ।

कमलकाशीका अनुसार गाउँमा कोरोना संक्रमित छन् । परीक्षणमा पोजिटिभ आएकाबाहेक अरू पनि हुनसक्ने उनको अनुमान छ । ‘घरबाहिर निस्केर के गर्ने ? कोरोना सर्‍यो भने’ उनले भनिन् । केही दिनअघि घनपोखराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँले डराएका छन् । स्थानीयका अनुसार गाउँकै एकजना वृद्ध र उनको छोरा कोरोनाकै कारण निधन भएको थियो । बिरामीलाई घरमा भेट्न गएका ६ जनामा कोरोना पुष्टि भएको थियो ।

अगुवा जितबहादुर गुरुङका अनुसार घनपोखरामा मात्रै होइन, तल्लो क्षेत्रको नायु, सेनेलगायत क्षेत्रमा पनि यतिबेला सुनसान छ । ‘कोरोना गाउँघरमा फैलियो कि भन्ने अनुमान छ’ उनले भने । घनपोखरामा कोरोना संक्रमित भेटिएपछि घलेगाउँवासी पनि डराएका छन् । घलेगाउँ सञ्चालक समिति अध्यक्ष गंगाबहादुर घलेका अनुसार गाउँलेमा कोरोना संक्रमणको त्रास बढेको छ । ‘सबैजना घरमै छन् । बाहिर हिंड्न डराएका छन् । एक महिनाअघि खुट्टा टेक्ने ठाउँसमेत थिएन । अहिले त गाउँ पूरै खाली छ’ उनले भने । क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा अहिले पर्यटक आएका छैनन् ।

क्व्होलासोंथर–४ भुजुङका बासिन्दा खेतबारीमा व्यस्त छन् । घरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । युम्पो विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङका अनुसार गाउँ सुनसान छ । कोही कतै हिंड्नु परे माक्स लगाएर हिंड्छन् । ‘गाउँमा सितिमिति मान्छे हिंडेको छैन । खेत जानलाई मात्र हो । नत्र सुनसान छ’ उनले भनिन् ।

लमजुङका ग्रामीण बस्ती अहिले सुनसान छन् । पसगाउँ, सिङ्दी, भोंजे, गिलुङ, चरागाउँ, नाल्मा, पुरानकोट, सिउरुङ, ढगैं, उस्ता, खासुर, छापा, मिप्रा, भाचोक, हिलेटक्सार, चिसापानी, प्यारजुङ, ओखरी, श्रीमन्ज्याङ, ठूलोकाभ्रे, सानोकाभ्रे, भुम्लीचोकलगायत गाउँ ठूलाठूला बस्ती अहिले सुनसान छन् । दूधपोखरी नजिकै बिचौरको माथिल्लो गाउँमा कोरोना फैलिएपछि उक्त क्षेत्र नै सुनसान बनेको छ ।

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले ग्रामीण बस्ती अहिले सुनसान बनेको बताए । उनका अनुसार कोरोना संक्रमण जोखिमबाट बच्न गाउँले हूलमूलका साथ निस्केका छैनन् । निस्किए पनि मास्क लगाउने गरेका छन् । ‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन’ उनले भने । उनका अनुसार अहिले संक्रमणस्थलबाट सिधै गाउँगाउँमा पुग्ने वातावरण भएकाले पनि जोखिम बढेको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?