१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्यटक लोभ्याउँदै हिमाली गाउँ

काउलेपानी, घनपोखरा, भुजुङमा आकर्षण बढी  
अर्ग्यानिक खानपान, ५२८ वर्ष पुरानो लमजुङ दरबार
आश गुरुङ

लमजुङ — चाडपर्व होस् या बिदाको समय । लमजुङको घलेगाउँ पुग्ने हुटहुटी जाग्छ धेरैलाई । केही दिनको समय छुट्याएर नजिकैको भुजुङ, काउलेपानी, घनपोखरा जान रुचि राख्ने धेरै भेटिन्छन् ।

पर्यटक लोभ्याउँदै हिमाली गाउँ

घुम्नैपर्ने ठाउँमा पर्ने यी गाउँमा बस्नलाई होमस्टेको सुविधा छ । यहाँ पुग्ने जोकोही प्रकृति र संस्कृतिसँग लुकामारी खेल्दै गाउँले जीवनशैलीमा रमाउन पाउँछन् । सहरको कोलाहलबाट टाढा, नदी र खोलाको सुसेली, चराचुरुङ्गीको चिरबिर आवाज अनि हिमालमुनिको स्वच्छ हावापानीले नलोभिने पर्यटक सायदै हुन्छन् । ढिँडो र लोकल कुखुराको मासुलगायत अर्ग्यानिक खानाले पनि आकर्षित गर्छ पर्यटकलाई ।

चक्रीय अन्नपूर्ण पदमार्गको छेउछाउ भएकाले पनि आन्तरिक पर्यटकलाई जिल्लाका पर्यटकीय गाउबारे धेरै सोधिरहन पर्दैन । बेंसीसहर आइसकेपछि यी गाउँ पुग्न जिपको व्यवस्था पनि छ । लमजुङ घुम्न आउँदा तनहुँको डुम्रे भएर आउनुपर्छ । बेंसीसहरबाट आधा घण्टादेखि २ घण्टाका बीच सबैजसो होमस्टे गाउँमा जिप पुग्छन् ।

पर्यटन अभियान्ता प्रेम घलेका अनुसार, २०५६ मा घलेगाउँवासीले पर्यटन प्रवर्द्धनका कार्यक्रम सुरु गरेपछि आन्तरिक पर्यटक आउन थालेका हुन् । घलेगाउँमा अहिले ४० होमस्टे सञ्चालनमा छन् । ‘घलेगाउँलाई स्मार्ट भिलेज बनाएका छौं । यहाँको खानपान हाइजेनिक छ । बेडदेखि कोठामा एकरूपता छ । पाहुनाको स्वागत र बिदाइ हुन्छ । घुम्ने ठाउँ बनाएका छौं । यो हाम्रो दुई दशकको मिहिनेत हो’ पर्यटन समितिका अध्यक्षसमेत रहेका घलेले भने । संसारमै घलेगाउँको बयान चलाउन घलेगाउँका सबै खाले दृश्य समेटिएको म्युजिक भिडियो निर्माण गरिएको उनले बताए ।

पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार नेपालकै ठूलो गुरुङ गाउँमध्येको एक भुजुङमा करिब ४ सय घर छन् । पश्चिमोत्तर क्षेत्रमा भुजुङभन्दा माथि कुनै गाउँ छैन । ठूलो अनि सुन्दर गाउँ भएकैले पर्यटकको रोजाइमा पर्ने गरेको छ । घुम्न आउनेलाई भुजुङ नआउँदा एउटा इतिहास छुट्छ । यो गाउँ ७ सय वर्ष पुरानो मानिन्छ । गाउँका २२ घरमा होमस्टे छन् । परम्परागत घर, न्यानो आतिथ्य, स्थानीय संस्कृति, प्राकृतिक दृश्यावलोकनले पर्यटक लोभिने गरेका छन् ।

भुजुङ र घलेगाउँको बीचमा घनपोखरा छ । मर्स्याङ्दी गाउँपालिका–१ मा पर्ने घनपोखरा जिल्लाकै सबैभन्दा उचाइमा रहेको गाउँ हो । यहाँ १० घरमा होमस्टे छ । स्थानीय जितबहादुर गुरुङका अनुसार, गुरुङ जातिको आदिमथलो क्होलासोँथरबाट आएर घनपोखरा बसेकाहरू अहिले संसारभरि छरेर बसेका छन् । ‘करिब १५ वटा हिमाल आँखैअगाडि देखिन्छ । हिमालसँग सबैभन्दा नजिक भएको गाउँ घनपोखरा हो,’ उनले भने ।

बेंसीसहर–३ मा पर्ने काउलेपानीलाई सन् २०१४ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि यहाँको रौनक छुट्टै छ । बेंसीसहरबाट आधा घण्टामै पुग्न सकिने काउलेपानीमा पर्यटक आगमन बढेको काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देउबहादुर गुरुङ बताए । गाउँको १४ घरमा होमस्टे छ । नजिकै यशोब्रह्म शाहका पालाका लमजुङ दरबार छ । यो दरबार १५५० सालमा निर्माण गरिएको मानिन्छ ।

पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले अर्ग्यानिक खानपानका लागि पर्यटक आउने गरेको बताए । सिस्नो, गुन्द्रुक, निउरो, च्याउ खान पनि पर्यटक यहाँ आउने उनी बताउँछन् । सिउरुङको १६ घरमा होमस्टेको सुविधा छ । बेसीसहरदेखि ३ घण्टाको जिपयात्रापछि सिउरुङ पुग्न सकिन्छ । यहाँ रोधींको भाका गाइन्छ ।

२०७२ को भूकम्पले भत्किएको घरलाई अमेरिकी नागरिक नताशा वजनियकको सहयोगमा पुनर्निर्माण गरेपछि राइनासकोटको १४ घरमा होमस्टे छ । भिटोफले सन् २०१८ मा उत्कृष्ट होमस्टे घोषणा गरेको राइनासकोट तनहुको सीमाक्षेत्र पाउँदीबाट जान सकिन्छ । पाउँदीबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोट होमस्टे व्यवस्थापन समितिकी उपाध्यक्ष विष्णु गुरुङले बताइन् । राइनासकोटमा १५ औं सताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रव्य शाह बसेको इतिहास छ ।

राइनासकोटभन्दा पारिपट्टि गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेका थिए । राइनासकोटमा बाइसीचौबीसी राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । लमजुङ उद्योग वाणिज्य संघका गण्डकी प्रदेश सदस्य रामकुमार श्रेष्ठका अनुसार होमस्टे आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । ‘प्रकृतिको स्वादसँगै स्थानीय कला–संस्कृति, रहनसहन, प्राकृतिक छटा हेर्नकै लागि पर्यटक लमजुङ आउने गरेका छन्,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले घलेगाउँ, यशोब्रह्म शाहको लमजुङ दरबार, भुजुङ, राइनासकोट, घनपोखरा, सिउरुङ, काउलेपानी, इलमपोखरी, इशानेश्वर र दूधपोखरीलाई पर्यटकीय गन्तव्य घोषणा गरिसकेको छ । मध्यनेपाल नगरपालिकामा पर्ने इशानेश्वर साथै लमजुङ, कास्की र मनाङको सीमामा पर्ने दूधपोखरीमा बाहेक अन्य ठाउँमा होमस्टेको सुविधा छ । इशानेश्वर क्षेत्रमा पनि बसोबासका लागि होटल तथा लज छन् । दूधपोखरीका लागि ठाउँठाउँमा बास बस्ने धर्मशाला तथा गोठहरू भए पनि खानाको व्यवस्था भने आफैंले गर्नुपर्छ । पछिल्लो समय खासुर, ताघ्रिङ, पसगाउँ, हिलेटक्सार, तार्कुगहते, पुरानकोट, तुर्लुङकोट, नरुवल मगरगाउँ, भुस्मेलगायत गाउँ पर्यटकको रोजाइमा परेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?