पक्राउ परेकालाई छुटाउन गाउँलेले भत्काए निकुञ्जको गेट- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्राउ परेकालाई छुटाउन गाउँलेले भत्काए निकुञ्जको गेट

नारायण शर्मा

नवलपरासी — माछा मर्न गएका ३२ जनालाई निकुञ्जले पक्राउ गरेको भन्दै चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारी घेर्न गएका स्थानीयले कार्यालयकाे गेट भत्काएर उनीहरूलाई छुटाएका छन् ।

शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले पक्राउ गरेको हो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा हुन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई तस्करको आरोप लगाएर पक्राउ गरेको विरोधमा स्थानीयहरुले निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई मुक्त गरेको जानकारी दिए ।

‘उनीहरुको जिविकोपार्जन भनेकै माछा मार्ने हो ।’, मर्दनियाले भने । जरिवाना गरेर छोडिदिन निकुञ्ज कार्यालयलाई आग्रह गर्दा नमानेपछि गाउँलले कार्यालय गएर सबैलाई छुटाएर लगेको जानकारी दिए ।

निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ ।

पक्राउ परेका स्थानीय छुटाउन अमलटारीका गाउँलेले कार्यालयको गेट फोरेर सबैलाई निकालेर आइतबार बिहान घरघर पठाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा आइतबार बिहान बम विस्फोट गराइएकाे छ । कार्यालयमा बिहान सवा एक बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए ।

अर्को बम कार्यालयको गेटमा राखिएको छ । बम विस्फोटनबाट प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्ष पूणरुपमा क्षति पुगेको गाउँपालिका प्रमुख थापाले बताए ।

बम विस्फोटन हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूणरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । बाहिर अर्काे बम राखिएको हुँदा घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दाहालले बताए । कार्यालयको गेटमा राखिएको बम डिस्पोजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

बम विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा महेन्द्ररत्न माध्यमिक विद्यालयको भवनमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

बम विस्फाेटन कसले र किन गराएको भन्ने आफू अनभिज्ञ रहेको गाउँपालिका प्रमुख थापाले बताए । अहिलेसम्म कुनै समूह, व्यक्ति, संस्थाबाट कसैले कुनै किसिमको चन्दा, धाम्की केही नदिएको उनले बताए । गाउँपालिकाले शनिबारदेखि करारमा कर्मचारी(डाक्टर, स्टाफनर्स, अहेव, अनमीलगायत) नियुक्तीकालागि परीक्षा लिन सुरु गरेको थियो । उदयपुरका–८ स्थानीय तहमध्ये ताप्ली गाउँपालिका सबैभन्दा विकट मानिन्छ । सदरमुकाम गाईघाट पुग्न ताप्ली गाउँपालिका केन्द्र रुपाटार पुग्न सवारी साधनमा १२ घण्टाभन्दा बढी समय लाग्ने गर्दछ ।

प्रकाशित : मंसिर ७, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×