स्याङ्जामा पहिरोमा पुरिएर ३ जना बेपत्ता, ३ को उद्धार

प्रतीक्षा काफ्ले

स्याङ्जा — कालीगण्डकी गाउँपालिका–४ खहरेमा मंगलबार बिहान पहिरो जाँदा ३ जना बेपत्ता भएका छन् । कालीगण्डकी–४ का प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टीकाबहादुर थापा पहिरोमा पुरिएका हुन् ।

बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकी ३ जनाको उद्धार गरिएको छ ।

सोही ठाउँका हुमनाथ पाण्डे, इमानसिंह राना र वीरबहादुर रानाको उद्धार गरी उपचारका लागि गल्याङ लगिएको उनले बताए । उनीहरु पहिरोबाट बच्न भाग्दै गरेको अवस्थामा घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित : असार ३०, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

सबैका प्रिय ज्याक

द गार्डियन

लन्डन — उनी आयरल्यान्डका लागि सबैभन्दा प्रिय अंग्रेज थिए । लिड्सका लागि उत्तिकै प्रिय । आफ्ना भाइको खेलजीवन जत्तिको रहेन उनको । तर सबैका प्रिय चार्ल्टन उनी नै थिए ।

शुक्रबार राति ज्याक चार्ल्टनको निधन भयो । उनी ८५ वर्षका थिए । राति सुतेर फेरि उठेनन् । एक वर्षयता उनी बिरामी थिए । उनको हाँसो फरक थियो तर विशेष । फुटबलमा उनको योगदान गज्जब रह्यो नै । सबैले उनको व्यक्तित्वलाई गुमाउने निश्चित जस्तै छ ।

ज्याकलाई खास सम्झने भनेको सन् १९६६ को विश्वकप विजेता टिमको सदस्यका रूपमा हो । त्यसपछि उनलाई सम्झने कारण हो लिड्समा बिताएका २३ वर्षका लागि । अनि फेरि सम्झने हो, आयरल्यान्डलाई दुई अवसरमा विश्वकप अन्तिम चरणमा छनोट गराएकाले । व्यवस्थापकका रूपमा पनि उनले केही राम्रो समय मिडल्सब्रोमा बिताए अनि केही सेफिल्ड वेनस्डेमा । न्युकासलमा छोटो समय बिताउँदा उनले रेखदेख गरेका थिए, फुच्चे पाउल ग्यास्कोइनको । तर ठूला ज्याकलाई खासमा सम्झने भनेको उनको भलाद्मीपनका लागि हो । त्यसैले त उनी सबैका प्रिय थिए । सामान्य मध्यमवर्गीय परिवारमा उनको जन्म भएको थियो । त्यसैले होला, सन् १९७७ ताका नै चलेको रंगभेदी व्यवहारविरुद्धको आन्दोलनमा उनी समर्थक भएर निस्के । त्यतिबेला फुटबल र राजनीतिको खासै केही सम्बन्ध थिएन । फुटबल राजनीतिबाट धेरै टाढा थियो, त्यसैले ज्याकले फुटबल रोजे । यो नै उनको एकमात्र विकल्प थियो ।

उनी आफ्ना समर्थक भनेपछि भावनात्मक रूपमा नजिक भइहाल्थे । यसलाई लिएर धेरै कथा सुन्न पाइन्छ । जस्तो, उनी सामान्य कामदारलाई पनि घरमा बोलाएर चिया र बिस्कुट खुवाउने काम गर्थे । गाह्रो–साह्रो भयो भने आर्थिक सहयोग पनि गर्थे । आइरिस अभिनेता ब्रायन ओ’ब्रेन एउटा घटना प्रायः सम्झने गर्छन् । सन् १९९४ को विश्वकप अमेरिकामा भएको थियो, त्यसमा आयरल्यान्डले इटालीलाई हराएको थियो । ज्याक त्यसको खुसियाली मनाउनुमा भन्दा टिमका समर्थकलाई केही गाह्रो होला भनेर यताउता गरिरहेका थिए ।

प्रायः ज्याक आफूलाई राम्रो फुटबल खेलाडी मान्दैनन् । तर उनी वास्तवमै राम्रा खेलाडी भने थिए । उनका बुबा बबले आफ्नो पूरा जीवन खानी उद्योगमा काम गरेरै बिताए, उनीसँग फुटबललाई लिएर समय थिएन । तर उनकी आमा एलिजाबेथले उही बेला स्कुलको टिमका लागि फुटबल खेलिन् पनि । पछि सिकाउने काम गरिन् । उनका चार छोरा थिए, चारै जना सानोमा एकै खाटमा सुतेर हुर्के । उत्तर न्युकासलमा रहेका उनीहरूको घर ठूलो पनि थिएन ।

उनीहरू इंग्ल्यान्डको उत्तरपूर्वी भागका थिए तर फुटबलका लागि चार्ल्टन दाजुभाइले फरक दिशा लिए । बबी चार्ल्टन म्यानचेस्टरतर्फ लागे । उनलाई म्यानचेस्टर युनाइटेडमा जर्ज बेस्ट, पेले र बबी मुर जत्तिकै राम्रो खेलाडी मानिन्छ । बबी फरवार्डमा खेल्ने खेलाडी थिए । उनीभन्दा तीन वर्षले जेठा ज्याक अलिकति अग्लै थिए । उनले आफूलाई डिफेन्डरका रूपमा स्थापित गर्थे । उनले कहिल्यै आफूलाई फुटबल खेल्न आएको स्वीकारेनन् । बरु भन्थे, उनको काम फुटबल खेल्न आउनुलाई रोक्ने हो । सुरुआती दिनमा उनी प्रहरीमा जान चाहन्थे तर जुन दिन प्रहरीमा जानका लागि अन्तर्वार्ता थियो । उनले निर्णय गरे, ‘फुटबल खेल्छु’ भनेर । त्यसैले अन्तर्वार्तामा जाँदै गएनन्, त्यही दिन एलान रोडमा खेल्ने निर्णय गरे । लिड्समै ज्याकले प्याट केम्पलाई भेटे, उनीहरू विवाह बन्धनमा बाँधिए पनि । आफ्नो पूरा खेलजीवन लिड्समै बिताए, अन्यत्र कतै मोडिएन अनि लिड्सकै लागि लिग पनि जिते । त्यसैले उनलाई लिड्समा ‘लिजेन्ड’ मानिन्छ ।

इंग्लिस टिममा पर्नुलाई पनि ज्याक आफ्नो खेलका कारण मान्दैनथे । उनलाई लाग्थ्यो, भाग्यकै कारणमात्र उनी टिममा परेका हुन् । तर उनी टिम स्वयंका लागि भाग्यमानी साबित भए र इंग्ल्यान्डले विश्वकप पनि जित्न सक्यो । भाइलाई लिएर उनले खाली राम्रा शब्द मात्र बोले । भलै, उनीहरूबीच सम्पत्तिलाई लिएर केही समय कानुनी झगडा भएको थियो । ज्याक खुबै गर्वले भन्ने गर्थे, ‘बबी चार्ल्टन विश्वकै महान् फुटबल खेलाडी हुन् र उनी मेरा भाइ हुन् ।’

प्रकाशित : असार ३०, २०७७ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×