एमसीसी राष्ट्र हितमा आउँछ : दाहाल

माघ १०, २०७६

नारायण शर्मा

नवलपरासी — पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सुरु गर्ने एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी सम्झौता गरेर अघि बढाइने बताएका छन् ।

उनले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने पनि बताए । संवाद अघि बढाउँदा केही परिमार्जन गर्नुपर्ने देखिए त्यसैबेला टुंगो लगाइने उनले दाबी गरे । 

पार्टी एकिकरणका मूलभूत काम सकिएको जानकारी दिँदै नेकपाका अध्यक्षसमेत रहेका दाहालले पार्टीका केही नसकिएका प्रसंग र सामन्जस्यता चाँडो टुंगो लगाइने चरणमा काम भइरहेको बताए । 

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कार्यकर्ता प्रशिक्षणमा बोल्दै दाहालले शुक्रबार उक्त कुरा बताएका हुन् । राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको उनले बताए । दाहालले शुक्रबार नै देवचुली नगरपालिकामा रहेको भिमसेन आर्दश माविको स्वर्ण जयन्ती स्तम्भको अनावरण गरेका थिए । आफू चितवनको प्रतिनिधि भएका कारणले चितवन र पूर्वी नवलपरासीको विस्तृत गुरुयोजना बनाएर अघि बढाउन आफू प्रयत्नशील रहेको पनि बताए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully